धनगढीमा घरजग्गा कारोवार ह्वात्तै, महिनादिनमै ३,१९७ जग्गा कित्ताकाट
वीरेन्द्र भट्ट, धनगढीः चालु आर्थिक वर्ष सुरु भएसँगै घट्न थालेको घरजग्गा कारोबार र कित्ताकाट क्रमशः बढ्न थालेको छ। घरजग्गा कारोबारबाट संकलन हुने राजस्व भने घटबढ हुने क्रम जारी छ। हाल स्थानीय तहले जग्गा वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था छ। सोही कारण निरन्तर घट्दै गएको घरजग्गा कारोबार र कित्ताकाट जग्गा वर्गीकरणसँगै बढ्न थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।
चालु आर्थिक वर्षको माघ महिनामा मात्र कैलालीको धनगढी क्षेत्रमा तीन हजार एक सय ९७ जग्गाको कित्ताकाट भएको छ। चालु आर्थिक वर्षको अन्य महिनाको तुलनामा माघ महिनामा धनगढी क्षेत्रमा सबैभन्दा बढी जग्गाको कित्ताकाट भएको हो। साउनको तुलनामा भदौमा कित्ताकाट बढ्यो। तर भदौको तुलनामा असोजमा घटेको कित्ताकाट कात्तिकदेखि पुनः बढ्दै गएको छ।
घरजग्गाको कारोबार घट्नुमा धेरै विषय छन्। बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गामा पर्याप्त लगानी गर्न सकेका छैनन्। अर्कोतिर लगानी गर्न सक्ने स्थिति पनि छैन। गत जेठमा भू–उपयोग नियमावली–०७९ जारी भइसकेपछि जग्गा वर्गीकरणको अधिकार स्थानीय तहलाई दिइएको छ। लगत्तै भूमि मन्त्रालयले मंसिर २३ सम्म कृषि र गैरकृषि छुट्याइसक्न पनि परिपत्र गरेको छ।
यद्यपि हालसम्म के–कति स्थानीय तहको जग्गाको वर्गीकरण सकियो, विभागसँग तथ्यांक छैन। भू–उपयोग नियमावलीअनुसार कृषि र गैरकृषि छुट्याई स्थानीय तहले सिफारिस गरे कित्ताकाट गर्न पाइने छ। भूउपयोग नियमावली–०७९ मार्फत जग्गा खण्डीकरणलाई व्यवस्थित गर्ने र कृषि क्षेत्रको पहिचान गरी खाद्य सुरक्षालाई प्रत्याभूति गर्ने सरकारको योजना छ।
सुस्ताएको घरजग्गा कारोबारले क्रमशः लय समात्न थाले पनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा प्रवाह गर्ने कर्जा भने बढ्न सकेको छैन्। पछिल्लो समय तरलता अभाव, चर्को ब्याजदर, महंगी, मागमा आएको सुस्तता लगायत कारणले समग्र अर्थतन्त्रमै मन्दी देखिएको छ। सबैभन्दा बढी मन्दीको मारमा घरजग्गा व्यवसाय परेका छन्। बैंकले तरलता अभाव र चर्को ब्याजका कारण घरजग्गामा कर्जा लगानी गर्न सकेको देखिदैन।