सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारी दिवस मनाउनुको कारण र महत्त्व

२०७९ फाल्गुन २४, १०:३६

मान सिंह धामी :धनगढी हाम्रो पितृसत्तात्मक परिवार तथा पुरुष प्रधान समाजमा नारी दिवस मनाउनु कुनै अनौठो कुरा त होइन।

यो संसारमा नर र नारी गरि जात त दुईवटा मात्र छन्। तर नारीलाई सन्तान जन्माउने मेशिनको रुपमा हेरिनु, नारी भएकै कारणले हरेक क्षेत्रमा विभेद गरिनु, आदि कारणले महिला सशक्तीकरणको मुद्दालाई उजागर गरेर नर र नारी एक रथका दुई पाङ्ग्रा हुन भन्ने कुरालाई आत्मसात गर्दै केही हदसम्म नारी दिवस मनाउनु मेरो बुझाइमा उपयुक्त नै ठानेको छु

। संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो।आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन्। अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो। विश्वभर विभिन्न कार्यक्रम गरेर नारी दिवस मनाउने गरिन्छ।

तर नारी दिवस मार्च ८ मा नै किन मनाइन्छ त? यसको शुरुवात कसरी भएको थियो? यस सम्बन्धमा मेरो अध्ययन, जानकारी र बिभिन्न माध्यमबाट प्राप्त विवरणको आधारमा नारी दिवस किन मनाइन्छ? यसको सुरुवात कसरी भयो? भन्ने सम्बन्धमा यस लेखमा पाठकहरूलाई जानकारी गराउने ध्येयले नारी दिवसको शुभकामना सहित आजको यो कलमको यात्रालाई निन्तरता दिन गइरहेको छु। खासमा अन्तर्राष्ट्रिय नारी दिवस एक मजदुर आन्दोलनको उपज हो। यसको विजारोपण सन् १९०८ मा भएको थियो। जब १५ हजार भन्दा बढी महिलाहरूले न्युयोर्क शहरमा जुलुस निकाले आफ्ना काम गर्ने घण्टा कम गर्न माग गर्दै सडकमा ओर्लिएका थिए।

उनीहरुले राम्रो पारिश्रमिक दिन र मतदानमा आफ्नो अधिकारको माग गरेका थिए। यस आन्दोलनको एक बर्षपछि अमेरिकाको सोशलिष्ट पार्टीले महिला दिवसको घोषणा गर्यो। अब यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवस बनाउने सिलसिलेवार घटनाहरु भएको पाइन्छ। सन् १९१० मा कोपनहेगनमा क्लारा जेटकिनले एक महिला अन्तर्राष्ट्रिय कन्फ्रेरेन्सका क्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिएकी थिइन् । सो कन्फेरेन्समा १७ देशका सय महिला उपस्थित रहेका थिए।

सबैले यो सुझावको समर्थन गरेका थिए । यसको पहिलो बर्ष १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा महिला दिवस मनाइएको थियो। तर ८ मार्च नै किन नारी दिवस मनाउन थालियो त भन्ने प्रसंग अझ रोचक रहेको छ। क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कुनै मिति तोकेकी थिइनन्। सन् १९१७ मा आन्दोलनका क्रममा रुसमा महिलाहरुले ब्रेड एण्ड पिस अर्थात खाना र शान्तिको माग गरेका थिए । महिलाहरुको हड्तालले सम्राट निकोलसले पद नै छोड्नु परेको थियो। त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो। त्यति बेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो। उनीहरुले आन्दोलन सुरुगरेको दिन फेब्रुअरी २३ थियो भने ग्रेगेरियन क्यालेन्डर अनुसार सो दिन मार्च ८ थियो। यसरी सोहि दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो। तर, संयुक्त राष्ट्रसंघले १९७५ मा मात्र आधिकारिक मान्यता दिएको थियो।

त्यस बर्षदेखी अन्तर्राष्ट्रिय नारी दिवसलाई प्रत्येक बर्ष मनाउन थालिएको हो। देशमा कतिपय जघन्य अपराधका घटनाहरू बलात्कार, एसिड प्रकरण, जबर्जस्ती करणी, हत्या, यौनहिंसा तथा अन्य कैयौं घटनाहरू भइरहेका हुन्छन्। अधिकांश घटनाहरूको न त दोषी पत्ता लागेको छ, न त दोषीले उपयुक्त सजाय नै पाएका छन्। प्रत्येक दिन कुनै न कुनै ठाउँमा महिलामाथि हिंसा भइराखेको हुन्छ। ती नारीहरूले न्याय पाएको भए अझै बढी हर्षका साथ मनाइन्थ्यो होला नारी दिवस। तर विडम्बना! नातावाद, सत्ताशक्ति र कृपावादको कारणले कतिपय घटनाहरू त समाजमा दबाउने गरिन्छ। यदि यस्तो नहुँदो हो त पक्कै निर्मला पन्तको हत्यारा भेटिन्थ्यो होला। चौतर्फी दबाब दिँदासमेत निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न नसकिनुलाई कुन अर्थमा बुझ्ने हामीले? के देशमा न्याय हराएकै हो त? तत्कालको घटना हो भागरथी भट्टको बलात्कारपछिको हत्याकाण्ड, जसको देशभर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल र विरोध जुलुस तथा -यालीमार्फत विरोध प्रदर्शन गरियो र अन्त्यमा हत्यारा सार्वजनिक गरियो। परिवारले आफ्नी छोरी त फिर्ता अवश्य पाउँदैनन् तर हत्यारालाई सजाय दिएर चेलीको परिवारले न्याय पाउनु भनेको पनि अन्याय र पापको विरुद्ध न्यायको जित हो।

विसं २०१६ सालमा प्रधानमन्त्री विपी कोइरालाको पालादेखि यो दिवस मनाउन सुरु गरिएको हो भने महिलालाई मताधिकारको अधिकार भने विसं २००७ सालबाट प्रजातन्त्रको प्राप्ती सँगै भएको हो। विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो। श्रीलंकामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे। नेपालमा प्रधानमन्त्री विपी कोइरालाको प्रधानमन्त्री कालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकोमा पछि आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको पनि नारीलाई उच्च सम्मान गरिनु हो।

विश्वका महिलाले नेपालका महिला सहभागिताको उदाहरण देखेर हर्ष मान्नु परेको छ। यो उदाहरण नै अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्षको उपादेयता हो। नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धी, १९८१ लाई अनुमोदन गरिसकेको छ। हाम्रो हिन्दु समाजमा धनकी देवी लक्ष्मी, विद्याकि देवी सरस्वती तथा शक्तिकी देवी दुर्गाभवानीको पुजा आराधनाले पनि नारीलाई उच्च सम्मान गरेको कुरालाई नकार्न भने सकिदैन। 'लैङ्गिक समानताको आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार' भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

 उप-प्राध्यापक कैलाली बहुमुखी क्याम्पस

कमेन्ट लोड गर्नुस