सुदूरपश्चिमका रेडियोहरू संकटमा, राज्यले सहयोग नगरेको सञ्चालकको गुनासो
धनगढीः सुदूरपश्चिम प्रदेशका रेडियोहरु आर्थिक संकटमा परेको सञ्चालकहरुले गुनासो गरेका छन्। प्रदेशभर रेडियोमा झण्डै २५ करोड लगानी भए पनि अधिकांश एफएम रेडियोहरु विविध संकटको सामना गर्दै संघर्ष गरिरहेका बानका केन्द्रिय उपाध्यक्ष गोविन्द रोस्याराले बताए।
’आवाज बिहिनहरूको आवाज बनेर समुदायका समस्या उजागर गर्दै आएका एफएम रेडियोहरु आर्थिक कारणले चलाउन मुस्किल हुन थालेको हो,’ उनले भने, राज्यले रेडियोहरूलाई कुनै पनि किसिमको सहयोग नगर्दा समस्याबाट गुज्रिनु परेको छ।’ सुदूरपश्चिम प्रदेशमा सामुदायिक र निजी गरेर करिव ९० वटा एफएम रेडियो सञ्चालनमा छन्।
गाउँघरदेखि सहरी क्षेत्रमा सूचना र समाचार पुगाउने बलियो र भरपर्दो माध्यम एफएम रेडियो अहिले आएर भने बन्द हुने अवस्थामा पुग्नु चिन्ताको विषय रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए। यस्तै, आवाज बिहिनहरूको आवाज बनेर सहयोग गर्ने रेडियो एफएम संकटमा पर्दा गाउँघरका समस्या र आवाज बिहिनका आवाज सम्बन्धित ठाउँमा पुग्न नसक्ने चिन्ता फाया नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेतले गरेका छन्।
’एफएम रेडियोहरू आवाज बिहिनहरूको आवाज बनेका छन्। रेडियोका कारण गाउँघर र सर्वसाधारणका समस्या उजागर भएका छन्,’ उनले भने, ’एफएम रेडियो संकटमा पर्दा आवाज बिहिनको आवाज बाहिर आउन समस्या हुने देखिन्छ।’ अहिले देखा परेको आर्थिक मन्दीको मारमा रेडियो परेको रेडियो प्रसारक संस्था बान र अकोराब सुदूरपश्चिम प्रदेशले जनाएको छ।
बजारमा आर्थिक मन्दी हुनु र विज्ञापन नपाइनुले रेडियो चलाउन मुस्किल भएको बताइएको छ। रेडियो र अन्य संचारमाध्यमलाई बन्द हुनबाट बचाउन कम्तिमा पनि प्रदेश र स्थानीय तहले केन्द्रमा विज्ञापन दिने नीति बदल्नु पर्ने सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का पूर्व प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले बताए।
’अहिले रेडियोलगायतका सञ्चार माध्यममा जुन आर्थिक संकट देखिएको छ त्यो समाधान गर्न कम्तिमा पनि प्रदेश र स्थानीय सरकारले नीति बनाउनु आवश्यक छ,’ उनले भने, ’प्रदेश र स्थानीय तहले केन्द्रमा दिने विज्ञापन स्थानीय रेडियोमा दिने नीति ल्याउनु आवश्यक छ।’ रेडियोहरू संकटमा पर्दा सर्वसाधारण सूचना, मनोरञ्जन र चेतनामूलक कार्यक्रम सुन्नबाट बन्चित हुने भएकाले राज्यले सहयोग गर्ने नीति ल्याउनु जरुरी रहेको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए।
’रेडियो एफएकजस्ता स्थानीयस्तरमा खुलेका सञ्चार माध्यमले सूचना, मनोरञ्जन र चेतना फैलाउने काम गरेका छन्,’ उनले भने, ’सञ्चार माध्यमलाई समस्या पर्न नदिन नीति ल्याउनु पर्छ भन्ने मेरो मान्यता छ।’ अहिले रेडियोहरूले भोग्नुपरेको आर्थिक, मानवीय र सुरक्षा जस्ता समस्याको समाधान गर्न राज्य अग्रसर र सहयोगी हुनुपर्ने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले बताए।
यस्तै, रेडियो सञ्चारको भरपर्दो माध्यम भएकाले समस्या पर्दा राज्यले अभिभावकीय भूमिका खेल्नुपर्ने प्रेस चौतारीका पूर्व प्रदेश इन्चार्ज हेमन्त पौडेलले बताएका छन्। सञ्चार गृहको दीगोपना र संचारकर्मीको पेशागत सुरक्षाका लागि राज्यले नीति नियम र कानुन निर्माण गर्दा उदार हुनुपर्ने आवश्यकता औलाइएको छ। लोकतान्त्रिक समाजको निर्माण गर्न अहम् भूमिका खेलेको सञ्चार क्षेत्रलाई संकटबाट बचाउन प्रदेश सरकार तयार रहेको आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले बताए।
’लोकतान्त्रिक समाज निर्माण गर्न रेडियोलगायत सञ्चार माध्यमको महत्वूर्ण भूमिका रहेको छ,’ उनले भने, ’लोकतन्त्रलाई थप बलियो बनाउन सञ्चार माध्यमले सहयोग गर्ने भएकाले प्रदेश सरकारले सहयोग गर्ने नीति ल्याउने छ।’ ’रेडियो र शान्ति’ भन्ने नाराका साथ आज सोमबार धनगढीमा पनि १२ औँ विश्व रेडियो दिवस मनाइएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा खुलेका कतिपय रेडियो बन्द भएका र कति बन्द हुने अवस्थामा पुगेको ब्रोडकास्टिङ एसोशियन अफ नेपाल (बान) सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमिता कुँवरले बताए ’कोभिड लगत्तै देखा परेको आर्थिक मन्दीको मारमा सुदूरपश्चिमका रेडियोहरू परेका छन्,’ उनले भने, ’हामीले व्यापारीबाट विज्ञापन ल्याएर आर्थिक व्यवस्थापन गर्नुपर्ने हुन्छ तर मन्दीका कारण उहाँहरू विज्ञापन दिने अवस्था मै हुनुहुन्न जसले गर्दा निकै समस्या भएको हो।’ प्रदेशमा रेडियोमा मात्रै झण्डै २५ करोड लगानी रहेको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र ब्रोड्कास्टिङ एसोसिएसन अफ नेपाल (बान) सुदूरपश्चिमले जनाएको छ।
१२ औं विश्व रेडियो दिवसको अवसरमा पाँच जनालाई सम्मान
विश्व रेडियो दिवसको अवसरमा ब्रोड्कास्टिङ एसोसिएसन अफ नेपाल (बान) सुदूरपश्चिमले पाँच जनालाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर, दार्चुला को मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिँह धामी, बानका पूर्व अध्यक्ष ज्ञानेन्द्र महता र अकोराबका पूर्व अध्यक्ष दीर्घराज उपाध्याय रहेका छन्।
सम्मानित हुनेहरुलाई प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले सम्मान पत्र प्रदान गरेका थिए। हमाल, कुँवर र धामीलाई रेडियो उद्यमी हुँदै जनप्रतिनिधि बन्न सफल भएकोमा सम्मान गरिएको बान सुदुरपश्चिमका अध्यक्ष अमिता कुँवरले बताए।
धनगढीमा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न रेडियो सञ्चालक र पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य श्रवण देउवाले गरेका थिए भने सञ्चालन अमरराज भट्टराईले गरेका थिए।