सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा सिमसार दिवस मनाइयो, तालको पानी सुक्दै

२०७९ माघ १९, ०३:०५ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडीमा सिमसार दिवस मनाइएको छ। ‘आजको आवश्यकता ः सिमसारको पुर्नस्थापना’ भन्ने नारासहित बिहीवार दिवस मनाइएको हो। 

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको बताए। उनले ताल क्षेत्रको संरक्षणमा जुट्न आवश्यक रहेको बताएका हुन्। घोडाघोडी क्षेत्रमा रहेका तालहरुको पानी पनि सुक्दै गइरहेको भन्दै रावतले चिन्ता व्यक्त गरेका छन्। ‘सिमसार क्षेत्रहरू हराउँदै, लोप हुँदै गएको छ। अतिक्रमण हुँदै गइरहेको छ। घोडाघोडी ताल क्षेत्र आसपासमा धेरै तालहरू थिए। अहिले सुकेका छन्,’  उनले भने।

बुलबुले ताल क्षेत्र कन्द्रा नदीको जोखिममा छ। वन क्षेत्रको संरक्षण नहुँदा सिमसार क्षेत्रहरू पुरिँदै गएको भन्दै नगरप्रमुख रावतले वन संरक्षणमा जुट्न पनि आग्रह गरेका हुन्। सिमसार संरक्षण राज्यको मात्र जिम्मेवारी नभएको बताउँदै नगरप्रमुख रावतले यसमा सबै लाग्नु बताए। 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बसन्ता, घोडाघोडी र कर्णाली कोरिडोरमा रहेका ताल तथा सिमसारहरू नास हुँदै गइरहेको बताएका छन्। नेपालको कुल भूमिको करिब ५ दशमलव ५ प्रतिशत सिमसार क्षेत्रले ओगटेको भन्दै रिजालले ती क्षेत्रको संरक्षण आजको आवश्यकता रहेको बताए।

नदी कटान, बाढी र डुबानले सिमसार क्षेत्र पुरिँदै गएको रिजालले बताएका छन्। रिजालले सिमसार जोगाउन साझा नीति आवश्यकता रहेको समेत जनाए। 

कार्यक्रमा पक्षीं संरक्षण संघका सहजकर्ता हिरुलाल डगौरा, भूपाल नेपाली, सामुदायीक सिकाइ केन्द्रका अध्यक्ष शिवप्रसाद ढकाल, सामुदायीक वन महासङ्घ घोडाघोडी अध्यक्ष मैना ढकाल, चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरे लगायतले मन्तव्य राखेका थिए।

डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चले कार्यक्रम आयोजना गरेको हो। मञ्चका अध्यक्ष हेम बमले सिमसार क्षेत्र नष्ट हुँदै गइरहेको भन्दै सरोकारवाला निकायले यसमा ध्यान दिनु पर्ने बताए।
सिमसार क्षेत्र नष्ट हुँदा जैविक विविधतामा पनि खतरामा पर्ने उनले बताए ।
 

कमेन्ट लोड गर्नुस