सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडी जिल्लाको उत्पादन घट्ने, धनगढीको फूलबारीमा गहुँ ‘पहेँलो’

२०७९ माघ ६, ०६:५२ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को एच गाउँका किसानले गहुँ बाली पहेँलो हुँदै गएको बताएका छन्। ’एच’ गाउँमा आफू लगायत अन्य तीन जना किसानले लगाएको गहुँमा पात टुप्पाबाट पहेँलो हुँदै गएको किसान डम्बर चौधरीले बताए। अनुदानमा प्राप्त गरेको उन्नत जातको बिउ छरेको भए पनि अहिले आएर बोट बढ्नुपर्नेमा पात पहेँलो हुँदै गएको चौधरीले बताएका छन्।

‘कृषि अनुदानबाट बिउ प्राप्त भएको हो तर अहिले बोटमा पात टुप्पाबाट पहेँलो हुँदै गएका छन्,’ उनले भने, ‘के भएको होला भनेर सोध्न कृषि ज्ञान केन्द्र गएका थियौँ, सरहरूले वोट परीक्षण गर्नुपर्ने भन्नु भएको छ।’ फूलबारीका किसानले कृषि अनुदानको बिउ लगाएको, मल तथा सिँचाइको पनि राम्रो प्रवन्ध गर्दा पनि गहुँको बोट सुक्ने अवस्थामा पुग्न थालेको बताएका छन्।

कृषि अधिकारीले भने किसानले मल, सिँचाइ र झार नासक विषादी प्रयोगमा मात्रा मिलाउन नजान्दा गहुँमा समस्या आएको हुन सक्ने बताएका छन्। कैलालीको अन्यत्रबाट गहुँमा कुनै समस्या देखा परेको भन्ने रिपोर्टिङ नभएको तर फूलबारीबाट भने किसानको गुनासो आएको कृषि ज्ञान केन्द्र कैलालीका कृषि अधिकारीले जनाएका छन्।

बिउमा समस्याभन्दा पनि सिँचाइ र झार नासक विषादी प्रयोगको मात्रा नमिल्दा गहुँमा समस्या आएको हुन सक्ने तर यथार्थ थाहा पाउन विरुवा परीक्षण गर्नुपर्ने कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी जनकराज बोहराले बताए। ‘गहुँमा पानी, मल तथा झार नासक विषादी प्रयोगको मात्रा मिलाउन नजान्दा समस्या आएको कैलालीको एक दुई ठाउँमा देखा परेको छ,’ उनले भने, ’फूलबारीमा के भएको हो भनेर थाहा पाउन विरुवा नै परीक्षण गर्नुपर्ने हुन्छ, यत्तिकै भन्न सकिन्न।’

पहाडी जिल्ला डडेल्धुरामा भने हिउँदे वर्षा नहुँदा गहुँमा वृद्धि विकास अवरुद्ध भएको छ। यो वर्ष हिउँदमा अहिलेसम्म पानी नपर्दा जिल्लामा ४० प्रतिशत गहुँ खेती प्रभावित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ। जिल्लाको गहुँ खेती हुने सबै क्षेत्रमा सिँचाइ सुविधा नभएकाले आकाशे पानीको भरमा खेती हुने गरेको छ।

तर, यो वर्ष दसैंयता पानी नपरेकाले जिल्लामा ४० प्रतिशत क्षेत्रमा लागाइएको गहुँ प्रभावित हुँदा उत्पादन घट्ने चिन्तामा जिल्लाका किसान छन्। हिउँदे वर्षा अहिलेसम्म नहुँदा जिल्लाका सबै पालिकामा ३० देखि ४० प्रतिशत गहुँ खेती प्रभावित हुने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए। ‘भदौंको अन्तिम सातादेखि अहिलेसम्म पानी परेको छैन, जिल्लामा करिव ४० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छैन,’ उनले भने, ’खडेरीको कारण यो वर्ष हिउँदे बालीको उत्पादन प्रभावित हुने देखिएको छ।’

अर्को पहाडी जिल्ला बैतडीमा पनि गहुँ खेती सुक्न थालेको भन्दै किसान चिन्तित भएका छन्। जिल्लामा करिव चार महिनादेखि पानी नपरेकाले लगाएको हिउँदे खेती मर्न थालेको पुर्चौडी नगरपालिका वडा नम्बर ७ का लक्ष्मीप्रसाद अवस्थीले बताए। ’पुर्चौडीमा चार महिना भयो पानी परेको छैन,’ उनले भने, ’खडेरीका कारण लगाएको गहुँलगायतको खेती सुक्न थालेको छ।’

बैतडीको सुर्नायाका तेज विष्टले पनी लामो समयसम्म पानी नपर्दा सिँचाइ सुविधा नभएको खेतमा गहुँ खेती सुक्न थालेको बताएका छन्। उनले भने, ’पानी पर्ला भनेर आकाश हेरेको हेरेइ गरेको धेरै भयो केही दिनभित्र पानी परेन भने यो वर्ष भोकमरी हुने निश्चित छ।’ बैतडीमा १७ हजार ५ सय हेक्टर जग्गामा गहुँ खेती हुने गरेको छ। जसमध्ये ८ हजार ५ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस