सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीसँग नेताहरुले बढाए भेटघाट, मन्त्री बन्लित रञ्जिता ?

२०७९ मंसिर १५, ०३:५५ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग नेताहरुले भेटघाट बढाएका छन्। उनलाई भेट्न गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेको पार्टीले बताएको छ। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेताहरुसँग पूर्व प्रतिनिधि सभा सदस्य चौधरीले भेटघाट बढाएको बताइन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेट गरेका हुन्। उनीहरुले सरकार गठनका विषयमा कुरा गरेको श्रेष्ठले बताइन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत अन्य माध्यामबाट चौधरीसँग छलफल गरेका छन्। सत्ता गठबन्धनमा रहेका दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन पहल थालेका श्रेष्ठले बताइन्। उनले भनिन, ‘मान्य ज्यूले कुरा गर्दै हुनुहुन्छ। मसँग कुनै कुरा भएको छैन। रेशम जीसँग कुरा हुँदैछ। उहाँले के भन्नु हुन्छ ?’ रेशम चौधरीले सरकारमा सहभागी हुने र मन्त्रीका लागि सहमती गरे तयार रहेको आशय श्रेष्ठको छ। 

रेशम चौधरीको रिहाई नागरिक उन्मुक्ति पार्टीको पहिलो सर्त छ। पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठसँगै कैलाली–२ मा अरुनकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरी नागरिक उन्मुक्तिबाट निर्वाचित भएका छन्।  बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार रेशमका बुवा लालवीर चौधरी निर्वाचित भएका छन्।  

२०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र ७ सुरक्षाकर्मीको हत्या भएको थियो। उक्त घटनामा  कैलाली अदालतबाट दोषी ठहर भएका चौधरीको सजाय उच्च अदालत दिपायलले सदर गरेपछि उनी डिल्लीबजार कारागारमा छन्। उनले रिहाइका लागि सर्वोच्च अदालतमा अपिल गरेका छन्। चौधरी २०७४ सालमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएपनि उनको सांसद पद निलम्बनमा रहेको थियो।

कमेन्ट लोड गर्नुस