सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीले सुदूरपश्चिम इञ्चार्ज भट्टलाई दलको नेता बनाउने, काँग्रेसले आन्तरिक निर्वाचन गर्ने

२०७९ मंसिर १३, १२:०७ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरु हुन्छन्। प्रदेश सभामा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सुदूरपश्चिम सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक हुन्छ। बहुमतको सरकारका लागि ३९ जना प्रदेशसभा सदस्य चाहिन्छ। 

सुदूरपश्चिममा कुनै पनि दलको बहुमत पुग्ने देखिएको छैन्। प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरुको सरकार गठन हुने देखिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र तथा एकिकृत समाजवादीको नेतृत्वमा सरकार गठन हुने देखिएको हो। माओवादी केन्द्रको दलको नेता खगराज भट्ट हुने देखिएका छन्। माओवादी केन्द्रका प्रदेश इन्चार्ज रहेका भट्ट डडेल्धुराबाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव)का अनुसार दलको नेता र प्रदेश सरकारको बिषयमा छलफल भएको छैन। तर पार्टीमा दलको नेताका लागि विवाद पनि नहुने उनले बताए। उनले भने, ‘अहिले छलफल भएको छैन। सामानुपातिकको मतपरिणम आएको छैन। बाजुराको मत गणना भएको छैन। कम्युनिष्ट पार्टीको सिद्धान्त अनुसार सिनियर नेताले नै दलको नेता नेतृत्व गर्ने हो। इञ्चार्ज नै निर्वाचित भएपछि उहाँले नै नेतृत्व  गर्नुहुन्छ।गठबन्धनको सरकार हुन्छ। सहमतीको आधारमा सरकार बन्छ।’

माओवादी केन्द्रको संसदीय दलको नेता लगभग भट्ट हुने पक्कापक्की भएकोमा काँग्रेसभित्र भने सहमति नहुने देखिएको छ। प्रदेशसभा सदस्यमा ११ सिट जित हासिल गरेको काँग्रेसभित्र दलको नेता छनौटका लागि निर्वाचन हुने देखिएको छ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले दलको नेताका लागि आन्तरिक निर्वाचन हुने बताए। उनले मुख्यमन्त्रीका लागि केन्द्रको निर्देशन चाहिने बताएका छन्।

प्रदेशसभा सदस्मा प्रत्यक्षतर्फ ११ सिट जितेर नेपाली काँग्रेस ठुलो दल बनेको हो। सुदूरपश्चिममा सरकार गठनका लागि २७ प्रदेशसभा सदस्य आवश्यक पर्छन्। नेपाली काँग्रेसका ११, माओवादीका ८, समाजवादीका २ प्रदेशसभा सदस्य प्रत्यक्षतिर विजयी भएका छन्। उनीहरुसँग प्रत्यक्षतिर मात्र २१ प्रदेशसभा सदस्य पुगेका छन्। बाजुराका २ निर्वाचन क्षेत्रको मतगणना बाँकी छ।

बाँकी सामानुपातिकबाट प्रदेशसभा सदस्य विजयी हुने र सरकार सञ्चालनको तयारीमा गठबन्धनका दलहरु छन्। मुख्यमन्त्रीका लागि भने प्रदेशका नेताहरुले केन्द्रको निर्देशन पर्खेका छन्। माओवादी प्रदेश अध्यक्ष चौधरीका अनुसार उनीहरु बिचमा मुख्यमन्त्री तथा सरकार गठनका विषयमा कुनै छलफलसमेत भएको छैन। केन्द्रीय राजनीतिमा छलफल सुरु भएकाले निर्देशनको पर्खाइमा रहेको उनले बताएका छन्। 

सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक प्रदेशसभा सदस्य हुने व्यवस्था छ। प्रत्यक्षतर्फको ३० क्षेत्रको मतपरिणाम आएको छ भने सामानुपातिकको गणना जारी छ। सुदूरपश्चिम प्रदेशमा सरकार गठनको चर्चा सुरु भएको हो। प्रदेश र प्रतिनिधिसभा सदस्यको मंसिर ४ गतेको मतपरिणाम सार्वजनिक भएसँग दलको नेता, प्रमुख सचेतक, सचेतक, मुख्यमन्त्री तथा मन्त्री छनौटको चर्चा सुरु भएको हो।

प्रदेश सरकारको नेतृत्व कुन दल्ले गर्ने भन्ने सहमति नभएकाले विजयी प्रदेश सभा सदस्यहरु पनि अलमलमा छन्। तर उनीहरुले आन्तरिक दौडधुप सुरु गरेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस