सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमै छैन क्याथ ल्याव, हृदयघात भए ज्यानै जाने जोखिम

२०७९ मंसिर २, ११:१९ नारायण अवस्थी

धनगढी: करिव २८ लाख जनसंख्या रहेको सुदूरपश्चिममा कुनै पनि अस्पतालमा मुटु रोगको उपचार गर्न क्याथ ल्याव छैन। मुटुमा समस्या भएका र हृदयघात भएका बिरामीहरूको उपचार गर्न अस्पतालमा क्याथ ल्याब हुनुपर्छ। तर सुदूरपश्चिमका कुनै पनि अस्पतालमा क्याथ ल्याब छैन।

प्रदेशको सबैभन्दा ठुलो अस्पताल सेती प्रादेशिक अस्पतालमा समेत क्याथ ल्याब स्थापना हुन सकेको छैन। हृदयघात भएमा केही मिनेटदेखि थोरै घण्टाभित्रै बिरामीले उपचार सेवा पाउनुपर्ने हुन्छ। त्यसका लागि कम्तिमा प्रदेशका ठुला अस्पतालमा क्याथ ल्याब हुनुपर्छ। तर प्रदेश सरकार मातहतको र सबैभन्दा बढी उपचार सेवा दिन सक्ने सेती प्रादेशिक अस्पतालमा क्याथ ल्याब स्थापना गर्न सरकारले कुनै सुरसार नै गरको छैन।

क्याथ ल्याव भए मुटुको उपचार गर्न र हृदयघातबाट हुने मृत्यु रोक्न सकिने मुटु रोग विशेषज्ञ डाक्टर निशान भट्टराइले बताए। 'सुदूरपश्चिममा कुनै पनि अस्पतालमा क्याथ ल्याब छैन तर कम्तिका जिल्ला अस्पतालमा क्याथ ल्वाब हुनुपर्ने हो,' उनले भने, 'प्रदेशकै ठुलो अस्पताल सेतीमा मात्रै पनि क्याथ ल्याब स्थापना गर्न सके मुटु रोगको सहज उपचार गर्न सकिन्छ।'

सुदूरपश्चिममा झण्डै २८ लाख जनसंख्या छ। प्रदेशभर स्वास्थ्य उपचारका लागि भने सेती प्रादेशिक अस्पताल सबैभन्दा भरपर्दो विकल्प हो। तर प्रदेशकै रेफरल अस्पताल भए पनि सेती प्रादेशिक अस्पतालमा मुटुका बिरामीको आकस्मिक उपचार सम्भव छैन। मुटुमा समस्या भएकाहरूलाई जतिखेर पनि हृदयघात हुने जोखिम हुन्छ।

त्यस्तो अवस्थामा बिरामीको तुरुन्त उपचार गर्न र ज्यान जोगाउन नजिकैको अस्पतालमा क्याथ ल्याब हुनुपर्छ। तर सुदूरपश्चिममा सेतीसहित कुनै पनि अस्पतालमा क्याथ ल्याब स्थापना गर्न सरकारी तहबाट प्रयाससम्म नभएको पाइएको छ। सेती प्रादेशिक अस्पतालमा क्याथ ल्याब सञ्चालनमा ल्याउन सके सुदूरपश्चिमका बिरामीले भारत या काठमाडौंको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने र बिरामीको उपचार लागत पनि कम हुने डाक्टर भट्टराईको भनाइ छ। 'सेतीमा क्याथ ल्याब भए एक त बिरामीले तुरुन्त उपचार गर्न पाएँछन् अर्को कम खर्चमा सहज उपचार सेवा पाउँछन्,' उनले भने, 'सेतीमा क्याथ ल्याब सञ्चालनमा ल्याउन ढिला गर्नुहुन्न।'

क्याथ ल्याबमा मुटुको एन्जियोग्राफी र एन्जीयोप्लाष्टीबाट उपचार गरिन्छ। हृदयघात भएको बिरामीको तुरुन्त उपचार गर्न अस्पतालमा क्याथ ल्याब भए सहज हुन्छ। छोटो समयमा उपचार गरेर बिरामीको ज्यान जोगाउन क्याथ ल्याब अत्यावश्यक भए पनि सुदूरपश्चिमका मुटुका बिरामीले भने प्रदेश बाहिर गएर उपचार गर्नुपर्ने बाध्यता छ। बाहिरका अस्पतालमा पनि बिरामीले समय पाउन लामो समयसम्म पालो कुर्नुपर्ने हुन्छ।

मुटुको भल्व साँघुरिएको, हृदयघात भएको अवस्थामा क्याथ ल्याब भए सहज उपचार पाउन सम्भव हुन्छ। क्याथ ल्याब मार्फत पेसमेकर राख्ने र मुटुमा भएका र हुनसक्ने जटिल समस्या पत्ता लगाएर नगारिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति राज्यले दिनुपर्ने हुन्छ। तर सेतीमा क्याथ ल्याब सञ्चालन गर्न यो वर्ष कुनै योजना नभएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए।

कम्तिमा दुई जना मुटु रोग विशेषज्ञ, दुई जना टेक्निसियन र १० जना नर्सिङ कर्मचारी भए अस्पतालमा क्याथ ल्याब सञ्चालन गर्न सकिने चिकित्सकले बताएका छन्। सेती प्रादेशिक अस्पतालमा क्याथ ल्याब सञ्चालन गर्न चालु आर्थिक वर्षमा भने सरकारले बजेटको व्यवस्था गरेको छैन।

क्याथ ल्याबका लागि उपकरण खरिद गर्न र सेवा सुरू गर्न करिव १० करोड बजेट आवश्यक हुने भए पनि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्याथ ल्याबका लागि बजेट छुट्याएको छैन। तर आगामी वर्ष क्याथ ल्याब स्थापना गर्न प्रस्ताव संघीय स्वास्थ्य मन्त्रालयमा पेस गरेको सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले बताए। 'क्याथ ल्याबको लागि यो वर्ष कुनै कार्यक्रम छैन,' उनले भने, 'तर सामाजिक विकास मन्त्रालयले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेस गरेको छ।'

सेती प्रादेशिक अस्पतालमा प्रदेशभरबाट बिरामी उपचार गराउन आउँछन्। तर सबै बिरामी र रोगको उपचार प्रदान गर्ने क्षमता अस्पतालले बिकास गर्न सकेको छैन। सुदूरपश्चिममा मुटुका बिरामीको संख्या बर्सेनि बढिरहेको भए पनि सेतीसहित प्रदेशका कुनै पनि अस्पतालमा क्याथ ल्याब छैन। जसका कारण मुटुका बिरामी सहज उपचार सेवा पाउनबाट बञ्चित छन्।

सेतीमा क्याथ ल्याब स्थापना गर्नुपर्ने माग उठे पनि दरबन्दी र जनशक्ति अभाव, उपकरण, भवन तथा बजेट अभावमा सेती प्रादेशिक अस्पतालले आफ्नो सामर्थ्य बिस्तार गर्न सकेको छैन। 
 

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस