सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा संस्थाका नाममा लाखौं रकम उठाएर फरार, ७ जना विरुद्ध ठगी मुद्धा

२०७५ चैत्र १, ११:११ प्रकाश सिंह

बाजुरा जिल्लामा समुदायबाट लाखौ रकम उठाएर एक संस्था भागेको छ । कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल प्रालि नामक संस्थाले समुदायमा समुह गठन गर्दै पैसा उठाएर भागेको छ । बाजुरा जिल्लाका स्थानीय तहमा आकर्षण तलब दिने भन्दै १३ जना सामाजिक परिचालक समुदायमा परिचालन गरेर पैसा उठाएको पाईएको छ । १७ सय १० कृषक समुहबाट ५ सयका दरले ८ लाख ५५ हजार उठाएर संस्था भागेको सामाजिक परिचालकमा काम गरेकी पुजा खातीले बताईन् । समुदायबाट पैसा उठाएर संस्था भागेर गएपछि आफुहरुले पनि तलब नपाएको उनले वताईन् । १३ जना सामाजिक परिचालकलाई मासिक १७ हजार ५ सयको नियुक्ती दिएको थिए। ५ महिना काम गरे एक पैसा पनि नपाएको सामाजिक परिचालकहरुको भनाई छ । समुदायबाट पैसा उठाएर अफिसमा बुझाउँथ्यौ, केन्द्रिय अफिस सुर्खेतमा पठाउने गरेका थियौं– पुजाले भनिन् । 

कृषकबाट पैसा उठाएर भागेपछि कृषकहरु मिलेर संस्थाका नाममा माघ १० गते जिल्ला प्रहरी कार्यलय बाजुरामा उजुरी दिएको बडिमालिका नगरपालिका–४ का कृषक कमलादेवी कार्कीले वताईन् । उनीहरुले ७ जनाका विरुद्धमा जिल्ला प्रहरी कार्यलय बाजुरामा उजुरी दिएका छन् । कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल प्रालिमा आवद्ध रहेका संस्थाका अध्यक्ष दैलेख घर भएका लालमणी देवकोटा, सुर्खेतका सन्दिप श्रेष्ठ, रनवीर विक, राजेन्द्र मल्ल, राजकुमार वास्तोला, हेमबहादुर चन्द र कालीकोट घर भएका मणिचन्द्र पाण्डे विरुद्ध ठगी मुद्धा दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ७ जनाका विरुद्धमा मुद्धा आएपछि उपस्थिति गराउनका लागि जिल्ला प्रहरी कार्यालय दैलेख, सुर्खेत र कालिकोटमा पत्राचार गरेको प्रहरीले जनाएको छ । संस्थाको बाजुरा प्रमुख भएर आएकी सिता मगरले भनिन्,– आफुलाई पनि राम्रो तलब दिने भन्दै बाजुरा आएकी हुँ, हामीले समुदायबाट पैसा उठाएर केन्द्रिय कार्यालय पठाएका हौं । कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपाल प्रालिका अध्यक्ष लालमणी देवकोटाले भने– बाजुरा प्रमुख बनाएर पठाएकी सिता मगरलाई थाहा होला, सुर्खेतको प्रहरी कार्यालयमा छु, अहिले धेरै बोल्दैन् । 

कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपाल प्रालि कम्पनी ऐनमा दर्ता भई सुर्खेत जिल्लामा ठेगाना रहेको पाईएको छ । बाजुरा जिल्लामा वनमा आधारित अलैची खेती, फलफुल खेतीमा काम गर्ने भन्दै स्थानीय तह, प्रशासनको अनुमति विना कर्मचारीको लागि विज्ञापन गरेको थियो । विज्ञापनमा खोल्दा २ सय १७ जनाले दखास्त दिएका थिए, उनीहरुबाट गैरकानुनी रुपमा ३ सयका दरले पैसा उठाएको थियो,– गैर सरकारी महासंघका केन्द्रिय सदस्य कासी विकले भने । आफुहरुले त्यो बेला नै संस्थाले मनोमानी पैसा उठाएको भनेर विरोध गरेको र संस्थाको विद्यानमा बाजुरा कार्यक्षेत्र पनि नरहेको विकले वताए । संस्थाले स्थापना गरेको घरको भाडा समेत नदिएर भागेको घर मालिक हंश थापाले बताए । मासिक १० हजार दिने गरी सम्झौता भएको थियो, तीन महिनाको दिईयो, ६ महिनाको नदिएर भागेको छ,– थापाले भने । 

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आफु कहाँ बाजुरामा काम गर्न अनुमति माग्न आएकोमा आफुले अनुमति नदिएको जानकारी दिए । आफु नदिएपछि जिल्ला समन्वय समितिबाट अनुमति लिएको उनले वताए । जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले भने काम गर्न त अनुमति दिएको तर उसले के गरेको हो कुनै जानकारी नभएको वताए । 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस