सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ मा ओझाको उम्मेदवारी, भन्छन्, 'काँग्रेसले स्वतन्त्र हुन बाध्य बनायो'

२०७९ असोज २१, ०५:१३ खबर संवाददाता

धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै संघीय सांसदका लागि उम्मेदवार हुने बताएका हुन्।

मंसिर ४ गते हुने चुनावमा कैलाली ५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनावमा उठ्न लागेको ओझाले बताएका छन्। 'कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मेरो उम्मेदवारी रहन्छ,' उनले भने, 'यहाँका मतदाताका माझ साझा उम्मेदवार भएर भोट माग्न जाँदैछु, मलाई विश्वास छ मतदाताले मलाई जिताउने छन्।'

निर्दलीय व्यवस्थाका विरुद्ध विगतमा आन्दोलन गरेको स्मरण गर्दै अहिले निर्दलीय उम्मेदवार भएर चुनाव लड्नु पर्ने परिस्थिति बनेको बताउँदै ओझाले गलत प्रवृत्तिकाविरुद्ध आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए। नेपाली काँग्रसका नेतासमेत रहेका ओझाले आफू दुई वर्षदेखि स्वतन्त्र भएको बताएका छन्।

उनले आफू बहुदलका लागि विगतमा लडेको जेल बसेको भए पनि नियतिले दल बिहिन बनाएकाले मंसिर ४ को चुनावले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताको सामुन्ने जाने अवसर प्रदान गरेको बताएका छन्। ओझाले सर्वपक्षिय उम्मेदवार बनेर भोट माग्ने र मतदाताले चुनाव जिताउने विश्वास व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणापूर्व यस क्षेत्रका मतदातासँग छलफल गरेर सबैको सहयोग र समर्थनमा उम्मेदवारी घोषणा गर्न पुगेको ओझाले बताएका छन्। नेपाली काँग्रेस पार्टीले आफूप्रति गरेको व्यवहारका कारण स्वतन्त्र उठ्ने कठोर निर्णय गरेको ओझाको भनाइ छ।

'मेरा लागि स्वतन्त्र उठ्नु अप्रिय घटना भए पनि पार्टीले गरेको व्यवहारका कारण कठोर निर्णय गरेको हुँ,' उनले भने, 'गोजीमा पैसा भरेर झोला भिरेर सजिलै धनगढीबाट सांसद बन्न सकिन्छ भन्ने इमेज निर्माण गर्न खोजिएको छ, त्यो इमेज बदल्न पनि मेरो उम्मेदवारी हो।'

अहिले दलहरूका कारण मतदाता दलीय उम्मेदवारसँग रुष्ट भएकाले आफूले सहजै चुनाव जित्ने ओझाले दाबी गरेका छन्। अहिलेसम्म सबै पक्षसँग परामर्श गरेकोले आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने उनले बताएका छन्।

कैलाली-५ का मतदाताको स्वाभीमान र आत्मसम्मानका लागि उम्मेदवार भएको र यो डेढ महिनाको समय चुनावी प्रचारका लागि पर्याप्त रहेको ओझाले बताएका छन्। राष्ट्र, राष्ट्रिय अखण्डता, स्वाधिनता, लोकतन्त्र र नागरिकहरूको आत्मसम्मानका लागि २०३४ सालदेखि क्रियाशील रहेको स्मरण गर्दै मतदाताले चुनाव जिताएर आगामी ५ वर्षसम्म स्वतन्त्र सांसद नै रहेर काम गर्ने ओझाले बताएका छन्।

काँग्रेसको नजरमा म भिलेन छु, धनगढीबाट विद्रोह सुरु हुन्छः पुष्करनाथ ओझा
 

कमेन्ट लोड गर्नुस