सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको गढ अन्य दललाई दिए ठूलो क्षति हुन्छः भरत खड्का

२०७९ असोज २०, ०५:१७ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका नेता भरत बहादुर खड्काले गठबन्धनका नाममा कांग्रेसको गढ अन्य दललाई बुझाउने काम भएको बताएका छन्। शेखर र गगन पक्षको भेलामा सहभागी नेता खड्काले कांग्रेसको वर्चस्व भएको क्षेत्रमा गठबन्धनको उम्मेदवार दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘जहाँ कांग्रेसको वर्चस्व छ त्यहाँ गठबन्धनको उम्मेदवार दिइएको छ। त्यहाँका मतदाताहरू ३० औँ हजार ४० औँ हजार त्यसमा मत दिने पक्षमा छैनन्। त्यो संवेदनशीलतालाई पार्टी सभापतिले अझै बुझ्नु पर्छ’, उनले भने।

२३ गते मनोनयन दर्ता गर्ने समय सिमा तोकिएको छ। खड्काले अझै केही दिन बाँकी रहेको भन्दै सभापति शेरबहादुर देउवालाई सुधार गर्न सुझाव दिए।

‘२ दिन समय छ अझै पनि सुधार गर्नुपर्छ। ती ठाउँमा कांग्रेसकै उम्मेदवारहरूलाई टिकट दिँदा कांग्रेसलाई फाइदा हुन सक्छ। यदि त्यसो नभए भने कांग्रेसलाई धेरै ठुलो क्षति हुन्छ’ उनले भने, ‘न्यायोचित तरिकाले सन्तुलन कायम राख्ने गरि सभापतिज्यू जानुपर्छ।’ आवश्यकता र औचित्यको आधारमा टिकट दिनु पर्नेमा उनले जोड दिए। उनले स्थानीय तहमा प्रतिशत माग नगरिएको भन्दै यस पटक सिट बाँडफाँटमा आफ्नो पक्षलाई ४० प्रतिशतको हुनु पर्नेमा जोड दिए। ‘भएन भने समस्या आउँछ। ठूलो क्षति हुन्छ’ उनले चेतावनी दिए।

यस अघि असोज ८ गते को खबरदारी भेलामा पनि शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्नेमा उनले जोड दिएका थिए।

कमेन्ट लोड गर्नुस