विद्यालयमा आफु निकटका शिक्षक राख्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको दबाव
कैलालीमा शिक्षक सरुवा मिलाईदिने भन्दै रकम माग्ने प्रधानाध्यापक विरुद्ध भएको उजुरीमा सहायक प्रमुख जिल्ला अधिकारीले समेत बार्गेनिङ गरेको आरोप लागेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुमार ठाकुर विरुद्ध परेको उजुरीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बार्गेनिङ गरेको अरोप लागेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टले प्रधानाध्यापक ठाकुर विरुद्ध परेको उजुरीका आधारमा रिक्त रहेको शिक्षक दरबन्दीमा जिल्ला प्रशासन कार्यालयमै कार्यरत प्रशासकिय अधिकृत यादव प्रसाद भण्डारीकी श्रीमतीलाई भर्ना गर्न दबाब दिएको खुलेको छ। जनता राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द गिरीले सहायक प्रमुख जिल्ला अधिकारी भट्टले प्रधानाध्यापक विरुद्ध परेको उजुरीसँगै अडियो पनि प्राप्त भएकाले यादवको श्रीमती निरा कुमारी खडकालाई उक्त स्थानमा भर्ना गरेमा कारवाही प्रक्रिया अगाडी नबढाउने भनेको बताए।
सहायक प्रमुख जिल्ला अधिकारीले उक्त चेतावनी पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीले निरा कुमारी खड्कालाई नै रिक्त दरबन्दीमा ल्याउने प्रयास गरेपनि असफल भएको पाईएको छ। तर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले आफूमाथी लागेको आरोप गलत भएको दावी गरेका छन्। उनले विद्यालय व्यवस्थापन समितिलाई शिक्षक नियुक्त किर्ते किन गरेको भन्दै बुझ्नका लागि बोलाईएको तर भण्डारीको श्रीमती राख्न दबाब नदिईएको स्पष्ट पारेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारीले आफूले दबाब दिएको विषयमा प्रमाण पेश गर्न चुनौति दिएका छन्। उनले आफू विदामा भएका कारण आवश्यक कारवाहीका लागि अख्तियारमा लेखी पठाउन ढिलाई भएको समेत जिकिर गरे। तर फागुन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरलाई पत्र काट्दै कारवाहीका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शिक्षक लक्ष्मी जोशीले शिक्षक नियुक्तिमा प्रअले रकम मागेको भन्दै गत पुष ८ गते आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिईन्।
यता जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यादव भण्डारीले आफ्नो श्रीमती निरा खडका अहिले अछाममा कार्यरत रहेकाले जनता राष्ट्रिय माध्यमिक विद्यालयको रिक्त दरबन्दीमा आउन निवेदन दर्ता गरिएको तर दबाब भने नदिईएको दावी गरेका छन्।
गत भदौँमा प्राथमिक तहका स्थायी दरबन्दीमा कार्यरत प्रधानाध्यापक अपसरा घिमिरे काठमाडौँ सरुवा भएर गएपछि रिक्त रहेको दरबन्दीमा शिक्षक भर्ना गर्ने विषय विवादित बनेको छ। रिक्त दरबन्दीमा आर्थिक चलखेल भएपछि सात महिनादेखी विद्यालयले शिक्षक पाउन सकेको छैन्।
घुस मागेको विवादमा मुछिएपछि प्रधानाध्यापक ठाकुरद्धारा राजीनामा
रिक्त दरबन्दीमा शिक्षक भर्ना गर्दा घुस माग गरेको विवादमा मुछिएपछि प्रधानाध्यापक सुरेन्द्र कुमार ठाकुरले राजीनामा दिएका छन्। आज बसेको अभिभावक भेलामा प्रधानाध्यापक ठाकुरले राजीनामा दिएका हुन्। उनले आफ्नो स्वार्थका लागि नभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द गिरीको दवावमा परी रकमको बार्गेनिङ गरेपनि आफू निर्दोष रहेको बताएका छन्।
यी समाचार पनि पढ्नुस्
कैलालीमा शिक्षक सरुवा गर्न प्रधानाध्यापकले मागे ५ लाख घुस
शिक्षक नियुक्ती घुस माग प्रकरण :छानविन गर्न सरोकारवाला निकाय मौन
राजनीतिक हस्तक्षेपले धनगढीको जनता राष्ट्रिय मावि धरासायी बन्दै