सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल प्रकरणः कन्याजाली च्यातिनुलाई अदालतले बलात्कारको प्रमाण मानेन

२०७९ असोज ७, ०६:५५ खबर संवाददाता

धनगढीः पल शाहलाई बलात्कारको अभियोगमा सफाइ दिँदै नाबालिग यौन दुरुपयोगमा दोषी ठहर गर्दै जिल्ला अदालत नवलपुरबाट भएको फैसलाको पूर्ण पाठमा बलात्कारको प्रमाणमा नयाँ व्याख्या आएको छ। यस अगाडि पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कन्याजालीलाई मुख्य प्रमाणको रूपमा स्वीकार गर्ने गरिएको भए पनि सो फैसलामा भने कन्याजाली च्यातिनु मात्र बलात्कार भएको प्रमाणको रूपमा स्वीकार गर्न मानिएको देखिएन।

फैसलाको पूर्ण पाठमा पीडितको स्वास्थ्य जाँच परीक्षणबाट कन्याजाली च्यातिएको भनी उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको हो भनी अनुमान गर्न समेत पीडितले नै अस्वीकार गरेकोलाई मुख्य आधार बनाइएको छ।

प्रारम्भिक अनुसन्धानमा पीडितले शाहले बलात्कार गरेको स्वीकार गरेकी थिइन्। तर पछि अदालतमा उनले बयान बदलिइन्। कन्याजाली च्यातिएको सवालमा उनले सानैबाट साइकल चलाउने र अरूलाई सिकाउने गरेको हुँ भनी अदालतमा गरेको बकपत्रले स्वास्थ्य प्रतिवेदनलाई खण्डित गरेको व्याख्या गरिएको छ।

'जबरजस्ती करणीको कसुर प्रतिवादीबाट भएको हो भन्ने अभियोगमा गरिएको दाबी बाहेक अन्य बस्तुनिष्ठ प्रमाण कागजबाट देखिन नआएकोले प्रतिवादीबाट अभियोगमा माग दाबी गरिएजस्तो कसुर गरेको नदेखिँदा कसुरबाट सफाइ पाउने ठहर्छ,' फैसलाको पूर्ण पाठमा उल्लेख छ।

अदालतले पीडितले बनावटी जाहेरी दिएको भन्ने पलको पक्षको जिकिरलाई भने स्वीकार गरेको छैन। अदालतले पीडित बालिका पनि गायन र कलाकारिता क्षेत्रमै सक्रिय रहेको र आफ्नो क्षेत्रलाई नै प्रत्यक्ष असर पर्ने गरी कसैले प्रलोभनमा परेर अरू कसैको कलाकारिता र अभिनयलाई मेट्ने उद्देश्यले मात्र जाहेरी दिएको भन्ने अनुमान गर्न मिल्ने नदेखिएको उल्लेख छ।

फैसलाको पूर्ण पाठमा पललाई सफाइ दिन जाहेरीकर्ता, पीडितले अदालतमा दिएको प्रमाणलाई आधार बनाइएको छ भने पललाई नाबालिगको यौन दुरुपयोग गरेकोमा दोषी ठहर गर्न भने अदालतको बयान अस्वीकार गर्दै प्रारम्भिक बयानलाई प्रमाण मानेको छ।

कमेन्ट लोड गर्नुस