सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गरिँदै

२०७९ असोज १, ०५:५४ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान भइरहेको छ। प्रदेशको बैतडी जिल्लास्थित पाटन नगरपालिकाको कागसेली, डडेल्धुराको जोगबुडा र कञ्चनपुरको बेलौरीमा १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको हो। 

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धानले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको जनाएको छ। प्रदेशको कञ्चनपुर तथा पहाडी जिल्ला डडेल्धुराको जोगबुडा र बैतडीको पाटनमा लगाइने रैथाने धानको सुख्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ ? भनेर अध्ययन, अनुसन्धान थालिएको हो। 

परम्परागत धानको खेती गर्न छोडेर आयातित धानको बिउमा निर्भरता बढेको भन्दै रैथाने धानको बिउ जोगाउन र खेती गर्ने प्रणालीको सिफारिस गर्न अनुसन्धान भइरहेको बताइएको छ। रैथाने जातको धानमा सुख्खा सहनसक्ने क्षमताको अध्ययन गरि निष्कर्ष निकाल्न लगातार ३ वर्ष  अनुसन्धान गरिने अनुसन्धान टोलीका सदस्य एवं कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले बताए।

‘मान्छेले परम्परागत धानको खेती गर्न छोडे। बाहिरबाट हाइब्रिड बिउ लिएर लगाउन थाले, यसरी पूरानो धान विस्थापित गरेर अरुमै निर्भर हुने देखियो,’ उनले भने, ‘हाम्रोमा पाइने धानको बिउ बाहिर लगेर त्यहाँ कपिराइट लागेर फेरि हामीले किन्नु पर्ने अवस्था हुन्छ। हाम्रा परम्परागत धानहरूको सुख्खा सहनसक्ने क्षमता पत्ता लगाउन यो अनुसन्धान थालिएको हो।’ 

रैथाने धानमा अनुसन्धान गर्न विश्वविद्यालय अनुदान आयोगले बजेटको व्यवस्था गरेको छ। त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागका प्रमुख प्राध्यापक डाक्टर रामकैलाशप्रसाद यादव, डाक्टर चन्द्र पोखरेल, डाक्टर लालबहादुर थापा र कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले रैथाने धानको अनुसन्धान गरिरहेका हुन्। बैतडीको पाटन नगरपालिकाको कागसेली, डडेल्धुराको परशुराम नगरपालिकाको परिगाउँ र कञ्चनपुरको बेलौरीमा ६० प्लटका दरले एक सय ८० प्लटमा लगाइएको धानमा अनुसन्धान भइरहेको छ।

‘अहिलेको अनुसन्धान १२ जातको धानमा भइरहेको छ, रैथाने धानका राम्रा गुण के रहेका छन्, उत्पादन बढी हुने जात कुन हुन् भनेर पत्ता लगाउन अनुसन्धान गरिन लागेको हो। सबै विवरण आउन ३ वर्ष लाग्ने छ।’, पन्तले भने।
पहाडी क्षेत्रको पाटनको कागसेलीमा त्यहाँको स्थानीय चमडे धान, झुम्की, रातोमार्सी र बातेबुढो धानको सुख्खा सहनसक्ने क्षमताको अध्ययन भइरहेको छ।

डडेल्धुराको जोगबुढामा माइती धान, झिनी, शान्ती र चिउडी जातको धान अनुसन्धानका लागि छनोट गरिएको छ। यस्तै बेलौरीमा भने अन्जना, घिउपुरी, लालचन्द र सुठीयारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको छ। 

रैथाने जातको धानको अध्ययन गर्न तीन फरकफरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ।  रैथाने धानको सुख्खा सहनसक्ने क्षमता कस्तो छ भन्ने निष्कर्ष निकाल्न थप दुई वर्ष लाग्ने छ। त्यसपछि भने रैथाने धानको उत्पादकत्व बढाउन कस्तो किसिमले धान खेती गर्न उपयुक्त हुने भनेर अनुसन्धान टोलीले सिफारिस गर्नेछ। 


  
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस