सुदूर नेपाललाई विश्वसँग जोड्दै

आसिफको ९४ रन र गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित

२०८३ वैशाख २२, ०४:४२ रासस

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्न सफल भएको छ।

मंगलबार ओमानमाथि ८१ रनको जित निकालेसँगै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएईविरूद्ध दुवै खेलमा जित निकालेको थियो। ओमानविरूद्धको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो। नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमा अलआउट भयो। ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाए भने हमाद मिर्जाले ३४ रन बनाउन सके।
बलिङमा नेपालका गुल्सन झाले उत्कृष्ट प्रदर्शन गर्न सफल भए। उनले ५ विकेट लिँदै एकदिवसीय करिअरको उत्कृष्ट बलिङ गर्न सफल भए। गुल्सनले ९ ओभरमा ३८ रन खर्चिएका हुन्।

सन्दीप लामिछानेले ८.५ ओभरमा २ मेडन राख्दा ३० रन खर्चिए भने १ विकेट हात पारे। करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीको नाममा १-१ विकेट रह्यो।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल खेल्न बाँकी छदा २५६ रनमा अलआउट भयो। नेपालका लागि ओपनर आसिफ शेखले ९४ रनको योगदान गरे। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दा शतक बनाउन ६ रन चुके।

अर्का ओपनर विनोद भण्डारी भने डकआउट भए। उनी दोस्रो पहिलो बलमा आउट हुन पुगेका थिए। तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ४८ रन जोडे। २ रनले अर्धशतक बनाउन चुकेका अर्जुनले ८७ बल खेलेर ४ चौका हिर्काए।

कप्तान रोहितकुमार पौडेल १६ बल खेलेर ९ रन जोडे भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन बनाए। गुल्सन झा १७ रनमा आउट भएका थिए। अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेर आउट हुनुअघि आरिफ शेखले २४ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए।

करण केसी ०, नन्दन यादव २ रन र सन्दीप लामिछाने १ रनमा आउट भए। बलिङमा ओमानका नदीम खानले ३ विकेट हात पारे। सकील अहमद र हसनइन शाहले २-२ विकेट लिए। नेपाल, ओमान र युएई सम्मिलित यो सिरिजका नेपालले यसअघि युएईलाई दुवै खेलमा हराएको थियो। नेपालले ओमानसँगको पहिलो खेलमा भने पराजय भोगेको थियो।

अंक तालिकामा ओमान २८ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ। सातौं स्थानमा रहेको नेपालको २४ खेलबाट १८ अंक भएको छ। नेपालले लिग-२ को सिरिजमा यसपटक तीन खेल जितेको यो पहिलो पटक हो। अंक तालिकाको पुछार अर्थात् आठौं स्थानको युएईको २४ खेलबाट १४ अंक छ।

कमेन्ट लोड गर्नुस