सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया कप क्रिकेट : श्रीलंकासँग पाकिस्तान पराजित

२०७९ भदौ २५, ०७:१९ खबर संवाददाता

काठमाडौं: एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको अन्तिम खेलमा श्रीलंकासँग पाकिस्तान पराजित भएको छ। दुबईमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हराएको हो। पाकिस्तानले दिएको १ सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

श्रीलंकाको जितमा पाथुम निशन्काले ५५ रनको अर्धशतकीय इनिङ खेले। यस्तै भानुका राजपाक्षेले २४ तथा कप्तान दसुन शनकाले २१ रन बनाए। पाकिस्तानका मोहमद हस्नेन र हरिस राउफले २/२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाए। मोहमद नवाजले २६ रन जोड्दा मोहमद रिजवानले १४ रन बनाए। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । महेश थिक्सना र प्रमोद मदुशनले २/२ विकेट लिए।

यस जितसँगै श्रीलंका सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको छ। शीर्ष स्थानको श्रीलंकाले ३ खेलमा ६ अंक जोड्यो। पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ। पाकिस्तानले ३ खेलमा ४ अंक जोडेको छ।

अब फाइनलमा पाकिस्तान र श्रीलंकाबीच नै प्रतिस्पर्धा हुनेछ। फाइनल खेल आइतबार हुनेछ।

कमेन्ट लोड गर्नुस