सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पक्राउ परेका पुजारीलाई छोड्न ३ दिने अल्टिमेटम (भिडिओसहित)

२०७९ भदौ २४, ०७:५५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका ११ स्थित महाकाली नदीको भुजेला घाटमा दलित समुदायका व्रतालु महिलाको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारी सहदेव भट्टलाई प्रहरीले पक्राउ गरेपछि ब्राह्मण समुदायका अगुवा विरोधमा उत्रिएका छन्। उनीहरुले शुक्रबार महेन्द्रनगरस्थित शिवधामदेखि जिल्ला प्रहरी कार्यालयसम्म घाँट बजाएर विरोध गरेका हुन्।  

यस्तै उनीहरुले जनआन्दोलन चोक (भेटघाट चौतारी) मा चक्काजाम गरेर विरोध सभासमेत गरेका छन्। पक्राउ गरिएका थुनुवा पुजारीलाई ३ दिनभित्र रिहा गर्न उनीहरुले अल्टिमेटम पनि दिएका छन्। 

ऋषि पञ्चमीका दिन भुजेला घाटमा थर थाहा पाएर पूजापाठ गर्न अस्वीकार गरेपछि आफूमाथि सार्वजनिक स्थानमा जातीय भेदभाव गरिएको भन्दै भीमदत्त नगरपालिका ५ कि सन्जु नेपाली लगायतले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुजारी भट्टविरुद्ध जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले पुजारी भट्टलाई पक्राउ गरेको थियो।

यस्तै उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन पीडितसहित दलित समुदायका अगुवा पुगेका थिए।

 

कमेन्ट लोड गर्नुस