सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर घटनाको फैसला तयारी: पीडित परिवारको आँशु थामिएला ?

टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई आर्थिक सहयोग गर्दा/फाईल फोटो
टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई आर्थिक सहयोग गर्दा/फाईल फोटो
२०७५ फाल्गुन २२, ०१:१७ नवराज पनेरु

टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका भाई भरत विष्ट सशस्त्र प्रहरीमा भर्ना भएर आज धनगढीको पार्कमोडमा अहिले ड्युटी गरिरहेका छन्। आज धनगढीमा गृह मन्त्री राम वहादुर थापा बादल सहित उच्च सुरक्षा अधिकारीहरु आएकाले उनी सुरक्षामा जुटेका छन्। तर उनको ध्यान कैलाली जिल्ला अदालतमा पनि छ। दाईको हत्या भएको झण्डै साढे तीन बर्षपछि फैसला सुनाउने तयारी भएकाले उनलाई आजको फैसलाले आफ्नो र परिवारका सदस्यहरुको आँशु थामिन्छ कि भन्ने आशा पलाएको छ। 

८ सुरक्षाकर्मी र एक नावालकको हत्या हुने गरि भएको टीकापुर घटनाको आज फैसला सुनाउने तयारी भईरहेकाले पीडित परिवारहरु जिल्ला अदालत कैलालीले सुनाउने फैसलाले न्याय दिने आशा गरिरहेका हुन्। त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराको परिवार पनि अदालतले आफुहरुलाई न्याय दिनेमा आशावादी छन्। उनका बुवा प्रेम बोहराले हत्यामा संलग्नलाई कारवाही हुनेमा आशावादी रहेको बताए। 

शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले पनि साढे तीन वर्षअघि टीकापुर घटनामा छोरो गुमाएकी थिईन्। नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ। तरपनि अदालतको फैसलाले न्याय मिल्नेमा आशा उनको पनि छ।

यता पुरपक्षमै झण्डै साढे तीन बर्ष विताएका अभियुक्त र तीनका परिवारहरु पनि अदालतले आफुहरुलाई न्याय दिलाउनेमा आशावादी छन्। ८ सुरक्षाकर्मी र एक नावालकको ज्यान गएको घटना दुखद भएपनि न्याय प्राप्तीका लागि आन्दोलन भएकाले अदालतले न्याय दिनेमा उनीहरु आशावादी छन्। पुरपक्षका लागि थुनामा रहेकाहरुको परिवारको पनि विचल्ली छ। घरको अभिभावक पुरपक्षका लागि थुनामा भएपछि कतिपयको त घर लिलामी भईरहेको छ भने दैनिकी चलाउन पनि समस्या भईरहेको छ। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस