सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्च साहित्य समाजको २४ बर्ष : संस्था भन्दा व्यक्ति हावी

२०७५ फाल्गुन १९, ११:५८ नवराज पनेरु

२०५१ सालमा कैलाली जनपुस्तकालयले भानु जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा धेरै साहित्यकारहरुले रचना मार्फत नै आदिकवी भानुभक्त आचार्यलाई सम्झिएका थिए। सोही समयमा साहित्यकार यज्ञराज यात्री, दिनानाथ भट्ट, वासुदेव पाण्डेय, भालचन्द्र भण्डारी लगायतका विचमा एउटा बहस चल्यो। हरेक साहित्यिक गतिविधिका लागि जनपुस्तकालयकै भर पर्नुपर्ने बाध्यता किन ? त्यो बहसले एउटा मुर्त रुप लियो र केहि साहित्यिक गतिविधि सञ्चालनका लागि एउटा नयाँ सस्था जन्माउने निर्णय भयो, सुदूरपश्चिमाञ्चल साहित्य प्रतिष्ठानको नामले। तर तत्कालीन प्रमुख जिल्ला अधिकारीले प्रतिष्ठान भन्न नमिल्ने बताए र नामको पछाडी समाज जोडियो। त्यसपछि जन्मेको सुदूरपश्चिमाञ्चल साहित्य समाजको मुख्य उद्येश्य सुदूरपश्चिममा साहित्यिक गतिविध बढाउने र साहित्यिक क्षेत्रको श्रीवृद्धीमा योगदान पुगाउने। 

सोही उद्येश्यका साथ स्थापना भएको साहित्य समाजको सस्थापक अध्यक्ष भए झण्डै ४९ बर्षदेखि लेखनीमा सक्रिय कवि यज्ञराज यात्री। संस्था स्थापनामा महत्वपूर्ण भुमिका निभाएका अर्का कवि मनिराज जोशी सदस्यमा बसे भने वासुदेव पाण्डेय सस्थापक उपाध्यक्ष भए। त्यसपछि साहित्य समाजले २४ बर्षको अवधीमा ५ जना अध्यक्ष पाईसकेको छ। समाजको दोश्रो अध्यक्षमा साहित्यकार दिनानाथ भट्ट, तेश्रो पटक फेरी यज्ञराज यात्री, चौथो पटक पदमराज जोशी, पाँचौ पटक वासुदेव पाण्डेय र छैटौ पटक रामलाल जोशी। रामलाल जोशी अहिले समाजमा तेश्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्। 
समाजको २४ बर्षे यात्रा 
२०१२ सालमा स्थापना भएको जनता पुस्तकालय र त्यस्को २ बर्षपछि २०१४ सालमा कमलादेवी पुस्तकालय स्थापना हुन अगाडी सुदूरपश्चिममा साहित्यिक गतिविधि गर्नका लागि कुनै संघ सस्था नै थिएनन्। दुवै पुस्तकालयको उद्येश्य एउटै भएपछि २०१४ सालमा दुवै पुस्तकालय बिच एकता भएर कैलाली जनपुस्तकालयको जन्म भयो र केहि साहित्यिक गतिविधिहरु हुुन थाले। सुरुमा कैलाली जनपुस्तकालय मात्रै साहित्यिक कार्यक्रम गर्ने थलो भएपनि अहिले त्यसैको जगमा स्थापना भएको सुदूरपश्चिमाञ्चल साहित्य समाज नेतृत्वदायी भुमिका खेलिरहेको छ। तर साहित्य समाज रजत जयन्ती मनाउँदै गरेको अवस्थामा साहित्य समाजको २४ बर्षे यात्राका विषयमा चर्चा परिचर्चा भईरहेको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको स्थापनापछि साहित्यकारको छवि बनेको कुरामा धेरैको सहमती छ। साहित्यिक गतिविधि बढेको कुरामा पनि सहमती छ। तर साहित्य समाजले खेल्नुपर्ने भुमिका र खेल्न सक्ने भुमिका खेल्न नसकेको कुरामा पनि धेरैको सहमती छ। त्यो कुरामा सस्थापक उपाध्यक्ष तथा पुर्व अध्यक्ष वासुदेव पाण्डेय पनि सहमत छन्। सुदूरपश्चिम मौलीक सस्कृतीको भण्डार भएकाले समाजले गरेको गतिविधि पर्याप्त नभएको तर्क उनको छ।

सुदूरपश्चिमको सुन्दर भूगोल, जीवनशैली, सँस्कृति होस् वा सम्पदा नेपाली साहित्यको मुलधारमा अझै पनि पर्याप्त मात्रामा आउन सकेको छैन्। त्यो विषयलाई मुलधारमा ल्याउनका लागि साहित्य समाजले के ग¥यो ? यस क्षेत्रको कला, सस्कृतिको सम्वद्र्धनका लागि के ग¥यो ? नयाँ पुस्ताले मञ्च पाए वा पाएनन् ? पुरानाले सम्मान पाए ? लगायतका धेरै प्रश्न धेरैका मनमा उब्जिएका छन्। २४ बर्षको यात्रा पुरा गर्दै गर्दा यि सबै प्रश्नको जवाफ नेतृत्वसंग हुन आवश्यक छ। स्थापनादेखि सुदूरपश्चिमाञ्चल साहित्य समाजले उत्कृष्ट साहित्यकारलाई सम्मान, आर्थिक अवस्था कमजोर भएका साहित्यकारहरुलाई कृती प्रकाशनका लागि आर्थिक सहयोग, साहित्यिक रचनाहरुको प्रकाशन, तथा साहित्यकारहरुको जन्म जयन्ती मनाउने गरेको छ भने सुदूरपश्चिमको कला, सस्कृतीलाई मुलधारमा ल्याउनका लागि पनि पहल गरिरहेको छ। मञ्च नपाएर भौतारीरहेका नयाँ श्रष्टालाई मञ्च दिने काम पनि गरेको दावी सुदूरपश्चिमाञ्चल साहित्य समाजको छ। के त्यो मात्रै पर्याप्त हो ? अनि ति गतिविधि कत्तिको पारदर्शी छन् भन्ने प्रश्नको पनि समाजसंग हुन आवश्यक छ। 
नया पुस्ता अभिभावकत्व खोज्दै पुराना सम्मान र व्यवहारमा सुधार
धनगढीमा पहिलो पटक टिकटमा कविता सुन्ने कार्यक्रमको आयोजना भयो, २०७३ साल कार्तिक २८ गते। युवा कवि जनक रसिकको कविता सुन्ने दिन थियो। तर उक्त कार्यक्रम एउटा गैर साहित्यिक सस्था रोट्याक्ट क्लव अफ धनगढीले आयोजना गर्नुप¥यो। यो विषयले एउटा प्रश्न उठाएको थियो, सुदूरपश्चिमाञ्चल साहित्य समाज हुँदा हुँदै गैर साहित्यिक सस्थाको ब्यानरमा कार्यक्रम गर्ने बाध्यता किन आयो ? के साहित्य समाजले सबैलाई एकजुट बनाउन सकेको भए सो बाध्यता आउथ्यो भन्ने प्रश्न पनि उठेको थियो। एकल रचना बाचन कार्यक्रम संयोजनमा लागेका युवा साहित्यकारहरुले साहित्य समाजसंग समन्वय गर्न चाहेनन वा साहित्य समाजले गर्न चाहेन्। गैर साहित्यिक सस्थाले कार्यक्रम गरेकोमा पनि आपत्ति थिएन तर त्यो कार्यक्रम सुदूरपश्चिमाञ्चल साहित्य समाजले आफ्नो ब्यानमा गर्नु नसक्नुलाई भने धेरैले आश्चर्यका रुपमा हेरे। 

सो समयमा युवा साहित्यकारहरु एउटा अभिभावकत्व निभाउन सक्ने सस्थाको खोजीमा थिए। त्यसपछि धनगढीमा सडकमा गजल बाचन, सिमानामा गजल बाचन, पलेटी लगायतका कार्यक्रम भए ति कार्यक्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाजले आफ्नो भुमिका खेल्न सकेन्। साहित्य समाजमै रहेका धेरैले ती कार्यक्रमहरुलाई साहित्य समाजको चुनाव आईरहेकाले चुनाव लक्षित कार्यक्रमका रुपमा पनि हेरे। धेरै कार्यक्रमले निरन्तरता पाउन नसकेकाले त्यो कुरा केहि हद सम्म सावित पनि भएको छ। यद्यपी अहिले धनगढीकै कुरा गर्ने हो भनेपनि साहित्य समाजले सञ्चालन गर्ने साहित्यिक गतिविधि भन्दा अन्य संघसस्थाले गर्ने कार्यक्रमहरु बढि छन्। 

साहित्य समाजबाट नयाँ पुस्ताले अभिभावकत्व खोजिरहेको छ भने पुराना पुस्ताका साहित्यकारहरु सम्मान र व्यवहारमा सुधार खोजिरहेका छन्। समाजका सस्थापक मनिराज जोशीले पछिल्लो केहि समय यता साहित्य समाजले सस्थापकहरुलाई नै बिर्सिन थालेको बताए। समाजले संस्थापक र पुराना कार्य समितिका साहित्यकारहरुको नामोनिसान नै मेटाउन खोजेको भन्दै लामो समय साहित्यकारहरुविच द्धन्द्ध नै चलेको थियो। साहित्य समाजलाई स्थापना गर्न महत्वपूर्ण भुमिका खेलेका साहित्यकारहरुले सम्मान स्वरुप दोसल्ला र सम्मान पत्र नमागेपनि सस्थापकप्रति गरिने व्यवहार सुधार हुनुपर्ने बताएका छन्। 

सस्थापक अध्यक्ष यज्ञराज यात्रीले समाजमा संस्था भन्दा व्यक्ति हावी भएको बताए। उनले साहित्य र राजनीति फरक पाटो भएपनि साहित्य समाजमा राजनीतिक दाउँपेचको खेल हावी हुन थालेपछि सस्थाको गरिमामा आँच आउन थालेको बताए। पुरानो पुस्ताले साहित्य समाजले अभिभावकत्व गर्न नसकेको गुनासो गरिरहेका बेला पुराना पुस्ताहरु पनि आफुहरुप्रतिको व्यवहार ठिक नभएको गुनासो गर्दै आएकाले जस्ले गर्दा साहित्य समाजबाट नयाँ र पुरानो पुस्ता टाढीदा विचको पुस्ता मात्रै आवद्ध हुन थालेको छ। त्यसैले समाजबाट नयाँ पुस्ता अभिभावकत्व खोजिरहेका छन् भने पुराना पुस्ता समाजले गर्ने व्यवहारमा सुधार होस भन्ने चाहिरहेका छन्। 

साहित्यकारलाई एकजुट बनाउन नसक्नु समाजको असफलता हो ? 
अहिले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमै पनि दर्जनौ साहित्यिक सस्थाहरु खुलेका छन्। यदि साहित्य समाजले सबैलाई एकजुट बनाउन सकेको भए अन्य सस्था खुल्थे ? धेरैको मनको प्रश्न छ। अहिले साहित्य समाजले गर्ने कार्यक्रममा समाजका वर्तमान कार्य समितिका पदाधिकारीहरु पनि सहभागी भएको देखिन्न। समाजले सञ्चालन गरेको देश दर्शन अभियान पनि वर्तमान कार्य समितिकै पदाधिकारीहरुको समेत सहभागिता रहेको थिएन्। अहिले साहित्य समाजले गरेको कार्यक्रम भन्दा युवाहरुले विभिन्न सस्थाको नाममा गर्ने कार्यक्रममा साहित्यकारहरुको सहभागिता बढिरहेको छ।

समाजका एक जना सदस्यले वर्तमान कार्य समितिको बैठक बसेको पनि सम्झना नभएको प्रतिक्रीया दिए। समाजको वर्तमान कार्य समितिले युवा श्रष्टालाई एवद्ध गर्ने भन्दै विभिन्न विभागहरु ग्ठन पनि ग¥यो तर अहिले सम्म ति विभागले गरेको गतिविधि शुन्य छ। धेरैलाई त उक्त विभागको आफु सदस्य हु भन्ने विषयमा पनि थाँह छैन्। साहित्य समाजमा राजनीति हावी हुन थालेपछि पनि समस्या आएको गुनासो एकतर्फी साहित्यकारहरुको छ। समाजले आयोजना गने हरेक कार्यक्रममा राजनीतिक स्वार्थ गासिएको एक युवा साहित्यकारले बताए। 

साहित्य समाजको गतिविधिमा पारदर्शीताको अभाव
सदूरपश्चिमाअञ्चल साहित्य समाजले केहि समय अगाडी देश दर्शन अभियान चलायो। १५ दिने देश दर्शन अभियानको धनगढबिाट मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका थिए। सुदूरपश्चिमको मौलिक संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतसम्म पुगाउनका लागि अभियान थालिएको थियो। तर अभियानका लागि संकलन गरिएको रकमको अहिले सम्म लेखाजोखा राखिएको छैन्। अभियानका लागि समाजले विभिन्न माध्यमले रकम संकलन गरेको थियो। यस्तै साहित्य समाजले साधारण सभा समेत नगरेको भन्दै वर्तमान कार्य समितिकै पदाधिकारीहरुले पनि विरोध गर्दै आएका छन्। साहित्य समाजको आम्दानी, खर्च लगायतको विषयमा समग्र सुदूरपश्चिमवासीले जान्न पाउने अधिकार भएपनि समाजकै साधारण सदस्यहरुले समेत जान्न पाएका छैनन्। जस्ले गर्दा साहित्य समाजका गतिविधिहरुमा आर्थिक अनियमितता त छैन् भन्ने आशंका बढ्न थालेको छ। 

सम्मान साटासाटको आरोप
सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले रजत जयन्ती मनाईरहेको छ। साहित्य समाज स्थापना भएको २४ बर्ष पुरा भई २५ औँ बर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाईरहेको हो। रजत जयन्तीको पहिलो दिन वभिन्न पुरस्कारहरु वितरण गरिएको छ। देवकान्त लोक साहित्य पुरस्कार २०७४ लोक साहित्यविद प्राध्यापक डाक्टर कुशुमाकर न्यौपाने, प्रतिभा श्री सम्मान २०७४ कवि सुरेन्द्र अष्टफल, देवकान्त प्रतिभा पुरस्कार २०७४ कवि विमल वैद्य, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार २०७४ साहित्यकार बसन्त बागचन्दलाई प्रदान गरिएको छ। यस्तै देवकान्त प्रतिभा पुरस्कार २०७३ कवि दिनानाथ बराल र देवकान्त लोक साहित्य पुरस्कार २०७३ लोक साहित्यविद दिलानन्द पन्तलाई प्रदान गरिएको छ। सम्मान पाउने अधिकासं सुदूरपश्चिम बाहिरका श्रष्टाहरु छन्। 

समाजको वर्तमान कार्यसमितिका एक जनाले प्रश्न गरे, के ति सम्मान पाउने श्रष्टा सुदूरपश्चिममा छैनन्। सुदूरपश्चिम बाहिरको क्षेत्रमा सम्मान पाउनका लागि उनीहरुलाई सम्मान गरिएको आरोप पनि साहित्य समाज भित्रै लागिरहेको छ। रजत जयन्तीको कार्यक्रममा सस्थापकहरुलाई पनि सम्मान गर्ने चर्चा थियो तर उनीहरुलाई भने सम्मान गरिएन्। एक जना सस्थाका सस्थापकले भने, सम्मान गर्ने भन्दै निमन्त्रण भयो तर सम्मान गरिएन, सम्मान ठुलो कुरा नभएपनि आशा देखाउन समाजको वर्तमान कार्य समितिको गल्ती हो।

अवको बाटो 
सुदूरपश्चिम नेपाली भाषा, साहित्य , लोकसाहित्य र जातीय संस्कृतिकै उद्गम स्थलका रुपमा मानिन्छ। साहित्य समाजले यहाँका सांस्कृतिक, ऐतिहासिक, पर्यटकिय स्थलहरुको प्रचारका लागि जागरण अभियान पनि गर्न आवश्यक छ। सुदूरपश्चिममा लेख्ने श्रष्टा थुप्रै छन् झनै नयाँ पुस्ताहरुमा त फकर उत्साह छ।

तर सुदूरपश्चिमका साहित्यकारहरु भने अहिले सम्म पनि एकजुट भएको देखिन्न। अहिले शहर–शहरमा साहित्यिक संस्थाहरु स्थापना भईरहेका छन् भने युवाहरु अहिले पनि अभिभावकत्व ग्रहण गर्ने सस्था नपाएर गैर साहित्यिक सस्थाबाट पनि कार्यक्रम गर्न बाध्य छन्। यस्तो बेला सुदूरपश्चिमाञ्चल साहित्य समाजले नेतृत्वदायी भुमिका निभाउदै सम्भावनाले भरिपूर्ण सुदूरपश्चिमका विषयलाई मुलधारमा ल्याउन पहल गर्ने कि ? 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस