आज केन्या जाँदै नेपाली राष्ट्रिय क्रिकेट टोली
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज दिउँसो केन्या प्रस्थान गर्ने जनाएको छ।
नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन्। त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाइको कार्यक्रम राखेको छ। नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।
दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ। त्यसपछि एकदिवसीय सिरिज हुनेछ।
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन्। सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ।
नेपाल र केन्याबीचको पहिलो टी–२० भदौ ९ गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। दोस्रो टी–२० भदौ १० गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछ।
यस्तै, तेस्रो टी–२० भदौ १२ गते, चौथो टी–२० भदौ १३ गते र पाँचौं तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। यी म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाटै सुरु हुनेछन्। एकदिवसीय सिरिजको पहिलो खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते बिहान ११ः४५ सुरु हुनेछ।