सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन शाहमाथि हर्क साम्पाङको निरन्तर घोचपेच

२०७९ भदौ ३, ०६:२४ खबर संवाददाता

धनगढी: धरानका मेयर हर्क साम्पाङ  निरन्तर  फेसबुकबाटै काठमाडौ महानगरपालिका लक्षित टिप्पणी गरिरहेका छन्। विशेषगरी काठमाडौंको फोहोर व्यवस्थापनमा भएको कमजोरी र बालेन शाहले काम गर्न नसकेकोप्रति उनको कटाक्ष छ।

बुधबार जुल़ फेसबुकमा लेखेका थिए – ‘जसले जे भनोस्, तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कमसेकम काम त शुरु गरे ! केही दिनअघि उनले काठमाडौंको बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो भन्दै व्यङ्ग्य गरेका थिए । उनले भनेका थिए, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लाग्यो १ प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

आफ्नो स्टाटसकै बलमा काठमाडौंमा फोहोर उठ्न थालेको भन्दै उनले टिप्पणी गरेको विषयलाई बालेन शाहले सकारात्मक रुपमा लिएनन्। उनले हर्कलाई कमेन्ट गर्दै तितो पोखे र भने, ‘हो नि, तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

बालेनको टिप्पणीपछि हर्क आक्रोशित बन्दै लगातार उनीप्रति कटाक्ष गरिरहेका छन्। बुधबार नै उनले ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’ भन्दै कटाक्ष गरेका थिए।  फेसबुकमा अर्को स्ट्याटस लेख्दै उनले देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न नपाइने बताए । ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन । मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस् बेस्सरी !  काम गर काम हावा तालका हो ।’ 

यस्तै हर्कले बिहीबार पनि निरन्तर ३ स्टाटस लेखेर बालेनसम्बन्धी टिप्पणी गरेका छन्।  पोष्ट गरेका छन्, ‘ मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु !’

कमेन्ट लोड गर्नुस