सुदूर नेपाललाई विश्वसँग जोड्दै

४९ वर्षपछि सफा गरियो धनगढी पार्क मोड अगाडिको नाली

२०७९ साउन २७, १०:३० खबर संवाददाता

धनगढी:  कैलालीको धनगढीस्थित पार्कमोड दक्षिणतर्फ २०३० सालमा निर्माण भएको नालीको सफाइ ४९ वर्षपछि भएको छ। २०३० सालमा तत्कालिन अञ्चलाधीशको पहलमा भीमदत्त राजमार्गमा कार्यरत सडक प्राविधिकको सहयोगमा धनगढीको मुख्य सडकमा कल्भर्टसहितको नाली निर्माण भएको थियो। रसियन सिमेन्ट र सरियाबाट बनेको नाली करिब ६ फिट गहिरो रहेको स्थानीय लालबहादुर विष्टले बताए।

‘पार्कमोडबाट आउने पानी, लक्ष्मीनारायण चोकबाट आउने पानी र मुख्य सडकको पूर्वबाट आउने पानी पार्कमोडबाट दक्षिणतर्फ पानीको निकासका लागि अञ्चलाधीशको प्रयासमा गहिरो नाली बनेको हो,’ उनले भने, ‘नाली निर्माण भएको ४९ वर्षपछि पहिलोपटक उपमहानगरपालिकाले सफा गरेको छ। धेरैलाई यो ठाउँमा नाली छ भन्ने थाहा पनि थिएन होला।’

धनगढी उपमहानगरपालिकाले बुधबार र बिहीबार दुई दिन लगाएर रातिको समयमा नाली सफा गरेको हो। सफा गर्न नालीको स्ल्याब खोलेर हेर्दा पूरै नाली पुरिएको अवस्था देखिएको विष्टले बताए।

उपमहानगरपालिकाले नाली सफा गरेसँगै पार्क मोड क्षेत्रको मुख्य सडकमा पानी जम्ने समस्या समाधान हुने विश्वास गरिएको छ।

कमेन्ट लोड गर्नुस