डडेल्धुराबाट ३ पटक हारेका खगराजले कञ्चनपुरबाट चुनाव लड्ने चर्चा, देउवाले के गर्लान् ?
धनगढीः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने चर्चा छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि कञ्चनपुरबाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ।
उनी निकट स्रोतका अनुसार गठबन्धनबाट देउवा नै डडेल्धुरामा चुनाव लड्ने र भट्ट कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन्। तर, यसबारे माओवादी र कांग्रेसले भने आधिकारिक धारण सार्वजनिक गरेका छैनन्। माओवादी सुदूरपश्चिमका नेताहहरुका अनुसार देउवाले खगराज भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुनाव लडाएर भए पनि संसद्मा ल्याउने बताएका थिए। सोही अनुरुप खगराजले कञ्चनपुर २ बाट चुनाव लड्ने गृहकार्य थालेको बताइएको छ। तर, यो क्षेत्र काँग्रेसका नेता एनपी साउदको हो। उनी देउवा निकट भएकाले भट्टले गठबन्धनबाट सजिलै टिकट पाउन मुस्किल देखिएको छ। २०७४ सालको चुनावमा यो क्षेत्रबाट एमालेका नरबहादुर धामीले चुनाव जितेका थिए। धामीले ३३ हजार २ सय २० मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका साउद २४ हजार ८ सय ९३ मत ल्याएर पराजित भएका थिए।
पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै खगराज पराजित भएका थिए। त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो। देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए। २०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती दिएका थिए। तर, जित भएनन्। मतान्तरमा पनि सुधार आउन सकेनन्। स्थानीय तहको पार्टीगत मतलाई मूल्याङ्कन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो। तर, देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भएका थिए।