सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेनिस स्टार सेरेना विलियम्सद्वारा सन्न्यासको घोषणा 

२०७९ साउन २५, ०८:१६

एजेन्सी: अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पोस्ट शेयर गर्दै ४० वर्षीया विलियम्सले सन्नयासको घोषणा गरेकी हुन्।

आउँदो महिना हुने यूएस ओपनमा खेलेपछि सन्न्यास लिने योजना रहेको उनले बताएकी छन्। उनले इन्स्टाग्रममा लेखेकी छिन्, ‘जीवनमा एक समय यस्तो आउँछ, जहाँ हामीले एक छुट्टै दिशामा अघि बढ्ने निर्णय लिनुपर्ने हुन्छ। आफूले निकै माया गर्ने कुरालाई छोड्नुपर्दा त्यो समय सधैँ कठिन हुने गर्दछ।’

महिला टेनिसकी स्टार खेलाडी सेरेना विलियम्सले २३ पटक ग्रान्ड स्लाम जितेकी छिन्। उनले आफ्नो करियरमा ६ पटक त यूएस ओपन जितेकी छिन्। उनले सन् १९९९, २००२, २००८, २०१२, २०१३ र २०१४ मा यूएस ओपन जितेकी हुन्।पछिल्लो केही समयदेखि उनी चोट सहँदै आएकी थिइन् र टेनिस कोर्टमा पनि उनलाई फर्मले साथ दिइरहेको थिएन। आफ्नो खराब फर्मका कारण लामो समयदेखि उनको सन्न्यासबारे खबरहरू आइरहेको थियो। 

कमेन्ट लोड गर्नुस