क्यानडासँगको दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपाल ८३ रनले पराजित
काठमाण्डौँः नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ। योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ। पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो।
जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो। नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए। ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए। बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे। सन्दीप लामिछाने ११ रनमा आउट भए।
क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई÷दुई विकेट लिए। त्यसअघि किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निधारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।
क्यानडाका श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको अविजित साझेदारी गरेका थिए। श्रेयस ५० रन र खालिद ३० रनमा अविजित रहे। क्यानडाका ओपनर आरोन जोनसनले ४४ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक÷एक विकेट लिए। नेपालले यसअघि क्यानडामा स्थानीय क्लब ओन्टारियोसँग भएको दुई वटा अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो।
क्यानडाबाट नेपाल स्कटल्यान्ड जानेछ। स्कटल्यान्डमा त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुनेछ। विश्व कप क्रिकेट लिग–२ मा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ।