सुदूर नेपाललाई विश्वसँग जोड्दै

किएभको आवासीय क्षेत्रमा रुसी आक्रमण

२०७९ असार १२, ०९:५० खबर संवाददाता

रुसको आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी–७ का नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आज आइतवार किएभको आवासीय एवम् आसपासको क्षेत्रमा डरलाग्दो विस्फोट भएका छन्। 

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन हप्तापछि फेरि आक्रमण गरिएको युक्रेनको राजधानी किएभ नगरका प्रमुख भिटाली क्लिट्स्कोले बताएका छन्।

केही नगरवासीलाई बाहिर निकालिएको तथा दुई जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको क्षतिग्रस्त भवनको भ्रमण गरेपछि उनले बताए। भग्नावशेषमा मानिस रहेका अनुमान गरिएको छ।  

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ र नाटोको भेलालाई सम्बोधन गर्ने अपेक्षा गरिएको बेला पोल्यान्डको सीमा नजिकका सहर शनिवार भएका आक्रमणबाट प्रभावित भएका थिए।

आइतवारको आक्रमणको केही घण्टापछि जी–७ सदस्य क्यानडा, जापान र संयुक्त राज्य अमेरिकासँगै बेलायतले पनि मस्कोमाथि प्रतिबन्ध लगाउँदै उसको बहुमूल्य रत्न एवम् धातु निर्यात रोक्ने घोषणा गरेको छ। 

यो कदमले ‘रुसी कुलीन वर्गलाई प्रहार गर्ने र राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध संयन्त्रमा हान्ने’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्। 

बारभियन आल्पस्मा जारी बैठकपछि पश्चिमा गठबन्धनले मास्कोमाथि लगाइएका प्रतिबन्धहरूको प्रभावकारिताको समीक्षा गर्नुका साथै किएभका निम्ति सम्भावित सहायता तथा दीर्घकालीन पुनर्निर्माण योजनाबारे छलफल गर्नेछ। 

रुस–युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ। यस अवधिमा रुसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका सहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको झन्डै ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको झन्डै आधा भागमा रुसी सेनाले कब्जा गरेको छ। 
 

कमेन्ट लोड गर्नुस