सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर सुपर लिगको तयारी तिव्र

२०७५ फाल्गुन ३, ०७:२१ खबर संवाददाता

फागुन १३ गतेदेखि धनगढीमा सञ्चालन हुने विद्यालय स्तरको फुलबल प्रतियोगिता लिटल फ्लावर सुपर लिगको तयारी तिव्र पारिएको छ । १३ गतेबाट १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । लिटल फ्लावर प्रिमियर लिगले विद्यालयस्तरका क्रिकेट खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको जानकारी दिदै लिटल फ्लावर बोर्डिङ स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले अव फुटबलका खेलाडी उत्पादनका लागि पनि स्कुलले फुटबल प्रतियोगिताको जमर्को गरेको बताए । 

कैलाली जिल्लाका विभिन्न १२ वटा सामुदायिक र निजि विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता धनगढी स्थित क्षेत्रीय रंगशालामा आयोजना हुनेछ । धनगढीमा विद्यालय स्तरको फुटबल प्रतियोगिता हुँदा खेलाडीहरु पनि उत्साहित भएका छन् । प्रतियोगितामा धनगढीको ऐश्वर्या विद्या निकेतन, कैलाली विद्या निकेतन, सैनिक आवासीय मावि अत्तरिया, सत्यवती मावि अत्तरिया, खप्तड विद्या निकेतन अत्तरिया सहभागी हुनेछन् । त्यस्तै स्टेपिङ स्टोन स्कुल धनगढी, लिटल फ्लावर बोर्डिङ हाई स्कुल, हिल वर्ड स्कुल, एरिस्टो बोर्डिङ स्कुल, पञ्चोदय सेकेन्ड्री स्कुल, थ्रीस्टार बोर्डिङ स्कुल र क्रिस्टल एकेडेमी धनगढी सहभागी हुने जनाईएको छ । उनीहरुलाई चार समुहमा विभाजन गरिएको छ । लिग चरणबाट समुह विजेता टोली अघिल्लो चरण प्रवेश गर्नेछ । कक्षा १० सम्म अध्यनरत विद्यार्थीले मात्र सहभागीता जनाउन पाउने प्रतियोगिता फिफाको नियमको आधारमा नै खेलाईने भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा लिटिल फ्लावर बोर्डिङ हाइ स्कुल र क्रिस्टल एकेडेमी धनगढी भिड्ने छन् । लिग चरणमा प्रत्येक दिन तीन खेल खेलाईने जनाईएको छ । 

प्रतियोगिताको विजेताले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, उप–बिजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडीले ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने लिटल फ्लावर बोर्डिङ हाई स्कुलका प्रिन्सिपल शाहीले जानकारी दिए । साथै प्रतियोगिता लिग कम नकआउट बेसिसमा सञ्चालन हुने भएकाले खेलाडीहरुले दोश्रो मौका समेत पाउने उनले बताए । 
मृग गार्मेन्ट उद्योगको प्रमुख प्रायोजन रहेको प्रतियोगिताबारे आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । साथै पत्रकार सम्मेलनमा सहभागी टिमका कप्तानहरु, सम्बन्धित स्कुलका शिक्षकहरु, एन्फा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
 

कमेन्ट लोड गर्नुस