गेटामा ‘मेडिकल विश्वविद्यालय’ सञ्चालन भए हुने ५ फाइदा
-डा. तारामान कडायत
संसारभरी धेरै मेडिकल वा स्वास्थ्य विज्ञान विश्वविद्यालय छन्। तर नेपालमा मेडिकल विश्वविद्यालय सम्बन्धी स्पष्ट नीति सायद सरकारसँग नभएको हुँदा प्रस्तावित ‘गेटा मेडिकल कलेज’ लाई मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्न केही गृहकार्य गर्नु पर्ने हुन्छ। उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धानका क्रममा मैले नेपाल, दक्षिण कोरिया र अमेरिकामा सँगालेको अनुभव र ज्ञानको आधारमा प्रस्तावित ‘गेटा मेडिकल कलेज’ लाई यथाशीघ्र मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सकिन्छ र त्यसो गर्दा समग्र सुदूरपश्चिमलाई छिटो स्वस्थ र आर्थिक रुपमा सबल बनाउने बाटोमा डोर्याउन मद्दत मिल्नेछ भन्ने विचार राख्दछु।
मेडिकल कलेज त बनेको छैन मेडिकल विश्वविद्यालयको कुरा गर्ने ? विश्वविद्यालयको लागि ठूलो दक्ष जनशक्ति कहाँबाट ल्याउने ? भन्ने कतिपय व्यक्तिको प्रश्नको मेरो छोटो जबाफ ‘यति ठूलो लगानी र सम्भावना भएको संरचनालाई संकुचित दायरा र सीमित कार्यक्षेत्रको घेराभित्र सीमित गर्नेगरी मेडिकल कलेज वा प्रतिष्ठानमा विकास गर्दा यसको सम्भावना खुम्चिने छ। दक्ष जनशक्ति मेडिकल कलेजको रुपमा सञ्चालन गर्दा पनि सुरुका केही वर्ष कठिनाई हुनेछ। तर मेडिकल विश्वविद्यालयको मोडालिटीमा जाँदा दक्ष जनशक्ति भित्राउन झन् सहज हुनेछ। र, सोही दक्ष जनशक्तिलाई विश्वविद्यालयको मेडिकल संकाय मात्र नभई विश्वविद्यालय अन्तर्गत क्रमसः अन्य स्वास्थ्य संकाय सञ्चालनमा संलग्न गराउन सकिन्छ।
बुझ्नुपर्ने कुरा मेडिकल विश्वविद्यालय भन्ने बित्तिक्कै एकैपल्ट ठूलो संख्यामा विद्यार्थी र प्राध्यापक चाहिन्छ भन्ने हैन। सुरुवात थोरै संकायबाट गर्न सकिन्छ र विश्वविद्यालय हुँदा सम्भावित राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालासंग सहकार्य गरी उच्च शिक्षा, अनुसन्धान र बिरामीको हेरचाह गर्नसक्ने उत्कृष्ट केन्द्रको नमुनाका रुपमा विकास हुने बाटोमा लम्किने र दीर्घकालीन भिजन रहि रहन्छ। संकुचित दायरा र सीमित कार्य क्षेत्रको घेराभित्र राख्ने गरी मेडिकल कलेज वा प्रतिष्ठान मा विकास गर्दा धेरै बाधा र सीमितता हुने र सम्भावनालाई खुम्चाउने हुँदा यदि सम्भव भएसम्म प्रस्तावित ‘गेटा मेडिकल कलेज’ लाई मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सके यी ५ फाइदा हुनेछन्।
१) हाम्रा सन्ततिले आफूले चाहेको स्वास्थ्य विज्ञान विषय पढ्न र अनुसन्धान गर्न अन्यत्र जानुपर्ने बाध्यता हट्नेछः
समाज स्वस्थ राख्न वा बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा दिन थुप्रै किसिम र सीप भएका स्वास्थ्यकर्मी टिमको भूमिका र आवश्यकता पर्दछ। बिडम्बना सुदूरपश्चिम क्षेत्रमा हालसम्म पनि स्वास्थ्यसँग सम्बन्धित उच्च शिक्षा अध्ययनका लागि एउटा पनि क्याम्पस वा विश्वविद्यालय छैनन्।
चिकित्सा वा नर्सिङ्ग विज्ञान मात्रै नभई फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजिओथेरापी, डेन्टल, अप्टोमेट्री, फूड साइन्स, स्पोर्ट्स साईन्स जस्ता अत्यन्तै महत्वपूर्ण विषय अध्ययनका लागि वर्षेनी सुदूरपश्चिमका हजारौ विद्यार्थीले कि त ठूलो पूँजी जम्मा गरी टाढा र फरक वातावरणमा बाध्य भई भर्ना हुनुपर्ने नियति छ। कि त स्वास्थ्य विज्ञान पढ्ने आफ्नो इच्छालाई तिलान्जली दिई स्थानीय कलेजमा इच्छा नभएको विषय पढ्नु पर्ने बाध्यता छ। हैन भने उच्च शिक्षा अध्ययनलाई नै इतिश्री गरी यहाँका युवा काम खोज्न भारत तथा अन्य देशमा जान बाध्य छन्।
यदि मेडिकल विश्वविद्यालयको रुपमा अघि बढे सुदूरपश्चिम क्षेत्रको आम आवश्यकता अनुसार स्वास्थ्य विज्ञानसँग सम्बन्धित सम्पूर्ण विधाको अध्ययन तथा अनुसन्धान गर्न सकिने परिकल्पनासहित एकिकृत शैक्षिक स्वास्थ्य विज्ञान केन्द्रको रुपमा क्रमसः विकास हुनेछ।
२) सुदूरपश्चिमवासीले सरकारी स्वास्थ्य सेवा केन्द्रबाट प्रभावकारी स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन्ः
सरकारले सुदूरपश्चिमका स्वास्थ्य केन्द्र र अस्पताल सञ्चालनमा हरेक वर्ष अरबौ रकम खर्च गरे पनि ती स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाको गुणस्तरका कारण ती संस्थाप्रति आम जनताको आकर्षण र विश्वसनीयता घट्दै गएको समाचार छन्।
यस क्षेत्रमा हाल सञ्चालनमा रहेका ‘प्रमुख स्वास्थ्य उपचार केन्द्रहरु’ ले स्थापनाको दशकौं वर्ष हुँदापनि आफूलाई तृतीयकश्रेणीको अस्पताल(विशिष्ट चिकित्सक टोली र उपकरणहरूको माध्यमबाट इमर्जेन्सी तथा अत्यन्तै महत्वपूर्ण उपचार सेवाहरु उपलब्ध हुने) को रुपमा विकास गर्न नसक्दा भारत वा अन्य ठाउका महँगो र असहज सेवा लिन बाध्य हुने बिरामीको संख्या वर्षेनी बढेको दुखदायी समाचारहरु छन्।
तसर्थ सरकारी लगानीमा स्थापना र सञ्चालन भएका सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका अस्पतालहरुलाई एकीकृत स्वास्थ्य सेवा प्रणाली अन्तर्गत ल्याइ प्रस्तावित मेडिकल विश्वविद्यालयको ‘स्याटेलाइट हस्पिटल’का रुपमा सहजै बिस्तार गर्न सकिन्छ। मेडिकल विश्वविद्यालय ‘स्वास्थ्य सेवा सञ्जाल र प्रणाली’को माध्यमबाट सेवा आम नागरिकलाई सहजै प्रदान गरी देशकै नमुना प्रणालीको रुपमा विकसित हुने र यस्तो एकीकृत प्रणालीको अनुगमन र नियमन गर्न सरोकारवालालाई निकै सहज र प्रभावकारी हुनेछ।
३) स्वायक्त हुनेछ र आर्थिक आत्मनिर्भर हुन सजिलो हुनेछः
नेपालभन्दा सानो देश तर छोटो समयमा चमत्कारिक विकास गर्न सफल भएको दक्षिण कोरियामा करिब २ सय विश्वविद्यालयहरु रहेका छन्। ती स्थापनाका आधारमा ३ प्रकारका छन्:
क. केन्द्रीय सरकारद्वारा स्थापित नेशनल यूनिभर्सिटी
ख. प्रान्त सरकारद्वारा स्थापित पब्लिक यूनिभर्सिटी
ग. धार्मिक, सामाजिक गुठी वा व्यापारिक समूहद्वारा स्थापित गैर–नाफामूलक प्राइभेट यूनिभर्सिटी
यी सबै विश्वविद्यालयहरुको एउटा महत्त्वपूर्ण उदेश्य अरु कुनै विश्वविद्यालयको नियममा नरही आफ्नो क्षेत्र, समाज सुहाउँदो र आवश्यकता अनुसार अनुसन्धान गर्न तथा नयाँ संकाय/कार्यक्रम चलाउन सजिलो होस् तथा आर्थिक आत्मनिर्भर हुन सजिलो होस् भन्ने हुने गर्दछ। विश्वविद्यालयले आफ्नो सेवा तथा कार्यक्रम बिस्तार गर्न, गुणस्तर बढाउन र आत्मनिर्भर हुन विद्यार्थीबाट केही शुल्क लिनुका साथै राष्ट्रिय तथा प्राइभेट अनुसन्धानका कोष/अनुदान प्राप्त गर्न सजिलो हुने तथा ठूलो मात्रामा लगातार व्यक्तिगत वा सामूहिक दान संकलन गर्ने क्याम्पेन चलाउन सजिलो हुने गर्दछ।
साथै विभिन्न ठाउँमा प्रदान गरिएको अनेकन गुणस्तरीय सेवामार्फत रकम संकलन गर्न सजिलो हुनेछ। अझ महत्त्वपूर्ण कुरा मेडिकल कलेजलाईभन्दा विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्बन्ध/नेटवर्क बढाउन निकै सजिलो तथा प्रभावकारी हुन्छ र अनुसन्धान र विकासको अनुदान/कोष भित्राउने ठूलो सम्भावना हुन्छ।
४) स्वदेश तथा विदेशमा रहेका उच्च दक्ष जनशक्ति यहि क्षेत्रमा आएर सेवा गर्न पाउने र विभिन्न रोजगारीका अवसरहरु सिर्जना हुनेछन्ः
अहिले ठूलो संख्यामा मेडिकल तथा हेल्थ साइन्समा दख्खल राख्ने सुदूरपश्चिमसँग सम्बन्धित उच्च दक्ष जनशक्ति स्वदेश वा विदेशका उत्कृष्ट विश्वविद्यालय, अस्पताल वा हेल्थकेयर कम्पनीहरुमा अध्ययन, अध्यापन, अनुसन्धान तथा नेतृत्व तहमा क्रियाशील छन्।
यति ठूलो संरचना र सम्भावनालाई गेटा मेडिकल कलेज वा प्रतिष्ठानमा सीमित राख्नुको सट्टा मेडिकल विश्वविद्यालयको रुपमा विकास र विस्तार गर्दा त्यो ठूलो उच्च जनशक्ति आफ्नो दक्षता अनुसार विभिन्न उच्च शिक्षा/स्वास्थ्य सेवाका कार्यक्रमको योजनासहित अध्यापन, अनुसन्धान, विकासको ज्ञान र अनुभवसँगै आफ्नो संचित पूँजीलाई यहि क्षेत्रमा प्रयोग गर्ने गरी आउने बाटो खुल्छ।
अहिले बाध्यताले बाहिर अध्ययनरत विद्यार्थीहरु पनि अध्ययनपछि आफ्नै देश/क्षेत्रमा फर्कने तयारी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नेटवर्कसँगै अनुसन्धान र विकासको कोष/अनुदान भित्राउने ठूलो सम्भावना हुन्छ। साथै विश्वविद्यालयसँग आवद्ध भएर विद्यार्थी, अनुसन्धानकर्ता, चिकित्सक टोली तथा प्राध्यापकहरु अनुसन्धान र अन्वेषणमा संग्लग्न हुन पाउने र फलस्वरूप उत्कृष्ट रोजगारीका अवसरहरु सिर्जना भइ यस क्षेत्रको समग्र विकासमा दीर्घकालीन टेवा पुग्ने देखिन्छ।
५) सुदूरपश्चिम स्वस्थ र आर्थिक रुपमा सबल हुने बाटोतिर लम्किने छः
मेडिकल विश्वविद्यालयको स्वास्थ्य सेवा सञ्जाल र प्रभावकारी प्रणालीको माध्यमबाट सुदूरपश्चिमका विभिन्न जिल्लाका अस्पतालबाट गुणस्तरीय उपचार सेवा प्रदान गरी लाखांै नागरिकलाई स्वस्थ राख्न नीति, नियम र कार्यक्रम÷बजेट बनाउन समेत स्थानीय तथा केन्द्रिय सरकारलाई दिशानिर्देश गरी स्वस्थ र सम्बृद्ध सुदूरपश्चिम निर्माणमा प्रत्यक्ष सहयोग पुग्नेछ।
मेडिकल विश्वविद्यालयद्वारा तृतीयक श्रेणीको सेवासहित अन्तर्राष्ट्रिय स्तरको यूनिभर्सिटी सञ्चालन र विभिन्न विषयमा विद्यावारिधिसम्म अध्ययन गर्न कलेज सञ्चालन पश्चात उच्च शिक्षा र उपचारका लागि सुदूरपश्चिमबाट बाहिरिने ठूलो रकम रोकिनुका साथै भारत तथा अन्य भूभागका विद्यार्थी/बिरामीलाई समेत आकर्षण गर्न सकिनेछ। मेडिकल विश्वविद्यालयको सहयोग र समन्वयमा विभिन्न अनुसन्धान, विकास र राष्ट्रलाई नै फाइदा पुग्ने उद्यमशीलता/व्यापारिक गतिविधिको वृद्धि हुन गइ सुदूरपश्चिममा ठूलो रोजगारी समेत सिर्जना गर्नेछ।
(डा. कडायत औषधि विज्ञानमा विद्यावारिधी गरि हाल अमेरिकाको केन्टकी विश्वविद्यालयमा नयाँ औषधि आविष्कारबारे पोस्ट–डक्टरल फेलोशिप गर्दैछन्।)