सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका भित्री सडकमा निर्माण सामग्री थुपार्ने प्रवृत्तिले हैरानी

२०७८ चैत्र २८, ११:४१ विन्दु चन्द

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। तर धनगढीका जग्गा धनी तथा घरधनीहरुको मनपरी र उपमहानगरपालिकाको लापरवाहीका कारण राजधानीवासीले हैरानी खेप्नुपरिरहेको छ। 

धनगढीका मुख्य सडकहरुमा सवारीसाधनको चाप छ। भित्री सडकहरु भने निर्माण सामग्री राखेर कब्जा गरिएको धनगढीका दिनेश रानाले बताए। जथाभावी घर निर्माणका सामग्री बीच सडकमा राख्दा हैरान बनेको उनले बताए। ‘धेरै जाम हुन्छ। जामका कारणले समयमै गन्तव्य पुग्नुपर्नेमा ढिलो हुन्छ’ उनले भने। 

निर्माण सामग्रीका कारण आवतजावतमा समस्या मात्रै नभएर दुर्घटनाको जोखिम समेत बढेको छ। साँघुरा एकलेन सडकमा सवारी साधन चलाउनै सास्ती भइएरहेको गुनासो सवारी चालक देवसिंह खत्रीको छ। उनी भन्छन्, ‘साँघुरो सडकमा दुवैपट्टी निर्माण सामग्री राखिँदा दुर्घटनाको डर हुन्छ। यो समस्या धनगढीमा धेरै छ। निर्माण सामग्री त राखेको हुन्छन् त्यसैमाथि झन सवारी पनि पार्किङ गरिदिएको हुन्छन्। जसले गाडी छिर्ने ठाउँ नै हुँदैन। राजधानी भएर पनि यहाँको अवस्था विजोग छ। 

भित्री सडकमा मालबाहक ट्रकदेखि अटोरिक्सा र मोटरसाइकलहरु चल्ने गर्छन्। साँघुरा सडकमा सवारी चलाउनै समस्या भइरहेकोमा त्यसैमा निर्माण सामाग्रीले दुर्घटनाको जोखिम बढाएको गुनासो गरिएको छ। 

धनगढीमा जति पनि घरहरु बनिरहेका हुन्छन् सबैले सडकमै निर्माण सामग्री थुपारेर राखेको कमल वलीले भने। बाटोमा सामग्री राख्न बन्देज गरिदिए सहज हुनेउनले बताए।  त्यसमा उपमहानगरपालिकाले बेवास्ता गरेको उनले गुनासो छ। 

धनगढी उपमहानगरपालिकाले सडकमा निर्माण सामग्री राखे कारबाहीसहित जरिमाना गरिने निर्णय समेत गरेको थियो। त्यसका लागि पटक–पटक सूचना पनि जारी गरिएको थियो। तर ती निर्णय कार्यान्वयन नहुँदा उपमहानगरका सडकमा आवतजावत गर्न मुस्किल भइरहेको छ। 

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने जथाभावी अप्ठ्यारो हुने गरेर निमार्ण सामग्री राखेको पाइए हटाउने बताए। बाटो नै अवरुद्ध हुनेगरि राखेको भन्ने गुनासो आएमा हटाउन लगाइने उनले बताए। 

जथाभावी सामग्री राखे जफत गर्ने र जरिमाना लिएर फिर्ता गर्ने नियममा रहेको प्रवत्ता मुडभरीले बताएका छन्। ‘धेरैले उपमहानगरपालिकासँग अनुमति लिएर राखेका छन्। अधिकांशले अनुमति नलिएर पनि राखेका छन्। बाटोमा हिड्नै समस्या हुने गरि राखिएको भन्ने जानकारी आए हामी हटाउन लगाउँछौ’ उनले भने।   

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस