सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप २०२४ मा ग्लोबल क्वालिफायर्सबाट ८ टोली जाने

२०७८ चैत्र २७, ०९:०९ खबर संवाददाता

काठमाडौंः सन् २०२४ को टी–२० विश्वकपमा ८ टोली छनोट चरणबाट जाने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ निर्णयबार्ट नेपाललाई पनि केही सहज हुने देखिन्छ।

आईसीसीको बोर्ड बैठकले आइतबार विश्वकप खेल्ने टोलीको छनोट प्रक्रिया टुंगो लगाएको हो, जसअनुसार १२ टिम सिधै छनोट हुनेछन्। जसमा आयोजक वेष्ट इण्डिज र अमेरिकासँगै आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका शीर्ष ८ टिम पर्छन्।

थप दुई टिम १४ नोभेम्बर २०२२ को टी–२० ¥याङकिङमा छनोट भएका (१०) बाहेकको शीर्ष टोली आउनेछन्। यदी वेष्ट इण्डिजले अष्ट्रेलिया विश्वकपमा शीर्ष ८ मा स्थान बनाए ¥याङकिङका आधारमा तीन टोली आउनेछ।

बाँकी ८ टिम भने छनोट प्रतियोगितामार्फत टी–२० विश्वकपमा पुग्ने छन्। एशिया, अफ्रिका र युरोपका २–२ तथा अमेरिका र इष्ट एशिया प्यासिफिकको क्षेत्रीय छनोटबाट १–१ टिमले टी–२० विश्वकपमा स्थान बनाउने छन्।

अष्ट्रेलियामा नोभेम्बरमा हुने टी–२० विश्वकपमा चार टोली छनोट चरणबाट विश्वकपमा पुग्छन्। २०२४ मा थप चार टोली जाने हुँदा नेपाल जस्ता एशोसिएट सदस्य राष्ट्रको सम्भावना हुनेछ।

यस्तै आईसीसी महिला च्याम्पियन्ससिपमा १० टोली सहभागी गराउनका लागि एशोसिएट राष्ट्रका महिला टिमलाई एक दिवसीय मान्यता दिने सिफारिसलाई बोर्ड बैठकले हरियो झण्डा देखाएको छ।

सन् २०२४ मा हुने महिला टी–२० विश्वकपमा तोकिएको मितिसम्मको वरीयताका शीर्ष ८ टिमलाई सोझै र २ टिमलाई छनोटमार्फत सहभागी गराउने निर्णय आईसीसीले गरेको छ।

बैठकले २०२३ को आईसीसी यू–१९ महिला टी–२० विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय पनि गरेको छ।


 

कमेन्ट लोड गर्नुस