सुदूरपश्चिमका सहुलियत पसलमा पौने दुई करोडको कारोबार, चाडपर्वमा राहत
धनगढीः दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिममा सञ्चालन गरिएका सहुलियत पसलबाट एक करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएपछि सहुलियत पसलमा उपभोक्ता लाभान्वित भएका हुन्।
साल्ट ट्रेडिङ कर्पोरेसनले असोज १ गतेदेखि सञ्चालन गरेका सहुलियत पसलबाट एक करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो। सुदूरपश्चिमका धनगढी, अत्तरिया, बेलौरी, डडेल्धुरा, दीपायल, बैतडी, महेन्द्रनगर र टीकापुर गरी आठ स्थानमा सहुलियत पसल सञ्चालन गरिएका छन्।
साल्ट ट्रेडिङको प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार सबैभन्दा बढी चिनीको बिक्री भएको छ। एक करोड ४२ लाख ११ हजार ५ सय रुपैयाँको चिनी बिक्री भएको छ। त्यस्तै, ११ लाख ५१ हजार २ सय ८ रुपैयाँको आयोडिनयुक्त नुन र १२ लाख १५ हजार ६ सय ४५ रुपैयाँको तेल बिक्री भएको छ।
यस अवधिमा चिउरा १ लाख ३२ हजार ८ सय ४० रुपैयाँ, चनाको दाल ३ हजार ५ सय रुपैयाँ, मासको दाल ४ हजार ८२ रुपैयाँ, मुगीको दाल १३ हजार २ सय रुपैयाँ र मुसुरोको दाल ९० हजार ४५ रुपैयाँको बिक्री भएको छ। त्यस्तै, लोकल रहरको दाल १ लाख ४१ हजार ५ सय ६० रुपैयाँ र अन्य रहरको दाल १ लाख ८३ हजार ३ सय ९५ रुपैयाँको कारोबार भएको छ।
बजारमा प्रतिकिलो १ सय ४० रुपैयाँसम्म पर्ने चिनी सहुलियत पसलमा १ सय रुपैयाँमा उपलब्ध गराइएको छ। एक जना उपभोक्ताले अधिकतम पाँच किलोसम्म चिनी खरिद गर्न पाउने व्यवस्था छ। त्यस्तै, आयोडिनयुक्त नुन प्रतिकिलो २४ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १ सय ५० रुपैयाँ, उत्सव तेल १ सय ४५ रुपैयाँ र स्वस्तिक तोरीको तेल १ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ। चिउरा प्रतिकिलो १ सय ७ रुपैयाँमा उपलब्ध छ भने अन्य दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको प्रमुख कुँवरले बताए।
बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न पाउँदा उपभोक्तालाई चाडपर्वको खर्च व्यवस्थापनमा केही राहत पुगेको छ। विशेषगरी बजारमा महँगो पर्ने चिनी सहुलियत मूल्यमा उपलब्ध भएपछि उपभोक्ताको आकर्षण बढेको साल्ट ट्रेडिङले जनाएको छ। सहुलियत पसल कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछन्।