सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गेशले भनेः मेरो छोराको कसम ! पल जेल जाँदा मेरो आँशु झर्‍यो

२०७८ चैत्र २७, ०१:४८ खबर संवाददाता

काठमाडौँः गायक तथा कलाकार दुर्गेश थापाले अभिनेता पल शाहलाई फसाउन आफूले षड्यन्त्र गरेको प्रमाणित भए आफू कारबाही भोग्न तयार भएको बताएका छन्। नायक पल शाह एक जना नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेयता दुर्गेश थापाले पहिलोपटक मिडियालाई अन्तर्वार्ता दिएका हुन्। 

उनले आर्टिस्ट खबरसँग कुरा गर्दै आफूले पलविरुद्ध कुनै जालसाँझी नगरेको बरु उनलाई ज्यादै माया गर्ने मान्छे भएको जिकिर गरेका छन्। बाहिर आफ्नो र पलको दुश्मनीबारे जे जस्ता हल्ला चलेको भए पनि अहिले पनि आफूहरूबीच कुराकानी भइरहेको दाबी दुर्गेशले गरेका छन्।  ‘अहिले पनि ऊसँग कुरा हुन्छ, उसले मलाई सम्झाउँछ, मैले उसलाई सम्झाउँछु। म उसलाई के नै भन्न सक्छु र– नआउत्तेऊ, सब कुरा ठीक हुन्छ, ढिलो चाँडो हो’, दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘उसले पनि मलाई सम्झाउँछ, बीचमा मिस अन्डरस्ट्यान्डिङ भएर सबै यस्तो भयो। ल तिमी पनि नआत्तेऊ, सबै ठीक हुन्छ भन्ने कुरा हुन्छ।’

उनले पलसँग मात्र होइन, पलको परिवारसँग आफ्नो कुरा भइरहेको दाबी गरेका छन्। ‘पलसँग मात्र होइन फ्याम्लीसँग पनि कुरा हुन्छ। उहाँको एउटा छोरा हो, उहाँलाई सम्झाउँछु’, उनले भनेका छन्। पललाई फसाएर वा मारेर आफूले पाउने हो र भन्दै दुर्गेशले बरु पल जेल जाँदा आफू रोएको दाबी गरेका छन्। निकै भावुक मुद्रामा प्रस्तुत भएका दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘होइन पललाई मारेर, फसाएर मलाई मिल्छ के ? भगवान् कसम, मेरो छोराको कसम ! पल जेल जाँदा, पललाई हत्कडी लाउँदा मेरो आँशु झरेको छ। म यति माया गर्ने मान्छे हो पललाई।’

कमेन्ट लोड गर्नुस