मन्त्री बन्दी सत्ता गठबन्धनका साझा व्यक्ति हुन्ः वेदुराम भुसाल
काठमाडौंः नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिपरिषदमा समावेश गरिएको बताएका छन्। बिहीबार न्यूज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव भुसालले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा नियुक्त गरिएको बताएका हुन्।
यसअघि सरकार बन्दाताका नै मन्त्रिपरिषद्मा कानून व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गर्दै उनले मन्त्री बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफूहरुले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रुपमा लान आग्रह गरिएको बताए।
गैर सांसदलाई छ महिनाको लागि मन्त्रि बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्री भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको उनको भनाइ छ।