सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घको महासभामा अमेरिका प्रस्थान गर्दै

२०८३ असोज ४, १०:४१ खबर संवाददाता

काठमाडौंः परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वमा एक प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ। 

परराष्ट्र मन्त्रालयका अनुसार  परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ। उनले त्यहाँ पुगेर प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमणको तयारी पनि गर्नेछन्।

प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार , परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ।

यस पटक राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ। यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्कर्ने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्ने जनाइएको छ।

कमेन्ट लोड गर्नुस