कञ्चनपुरमा २४ ग्रामभन्दा बढी खैरो हिरोइनसहित चार जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट खैरो हिरोइनजस्तो देखिने अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
लालझाडी गाउँपालिका–१ डाँडा बिच्छुवामा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ८ ग्राम ९२३ मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थसहित धनगढी उपमहानगरपालिका–१० घुईयाघाटका २४ वर्षीय सागर चौधरी र २३ वर्षीय विना नन्द रानालाई उनीहरूले प्रयोग गरेको से ७ प १४१६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो।
यस्तै, भीमदत्त नगरपालिका–१० गज्जरमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले थप दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूबाट १५ ग्राम ६७० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका ४३ वर्षीय महेशप्रसाद भट्ट र कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी रहेका छन्।
प्रहरीले उनीहरूलाई लागूऔषध सेवन तथा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।