सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुधार भएन सेती अस्पतालको सेवा, पाइँदैन चिकित्सकले लेखेका औषधि

२०८३ मंसिर १०, ०५:२५ लक्ष्मण ढुङ्गाल

धनगढीः सुदूरपश्चिम प्रदेशको रेफरल केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा औषधि अभावको समस्या समाधान हुन सकेको छैन। सरकारी अस्पतालबाटै सस्तो र सहज उपचार पाउने अपेक्षा गरेर आउने बिरामीले चिकित्सकले सिफारिस गरेका सबै औषधि नपाउँदा निजी फार्मेसी धाउनुपर्ने बाध्यता कायमै छ।

बिहीबार गोदावरी नगरपालिकाकी तुलसा भट्टराई उपचारका लागि सेती अस्पताल पुगेकी थिइन्। चिकित्सकले सिफारिस गरेका औषधि लिन उनी अस्पतालको फार्मेसीमा लामो समय लाइनमा बसिन्। तर, पर्चामा लेखिएका सबै औषधि पाइनन्। आधा औषधि मात्रै अस्पतालबाट पाएपछि बाँकी औषधिका लागि बाहिर जानुपर्ने अवस्था आएको उनले बताइन्। स्वास्थ्य बीमामार्फत उपचार गराउँदै आएकी उनलाई अस्पतालमै औषधि नपाउँदा थप सास्ती भएको छ।

गोदावरी नगरपालिकाको गेटाकी मञ्जु ठगुन्नले पनि यस्तै समस्या भोग्नुपरेको छ। चिकित्सकले सिफारिस गरेका औषधिमध्ये एउटा मात्रै अस्पतालको फार्मेसीमा उपलब्ध भयो। बाँकी औषधि निजी फार्मेसीबाट किन्नुपर्ने बाध्यता भयो। औषधि अभावसँगै अस्पतालको अन्य सेवा लिनसमेत सहज नभएको उनको गुनासो छ। 

अर्की सेवाग्राही जसु केसीको गुनासो पनि उस्तै छ। आवश्यक सेवा लिन पटकपटक अस्पताल धाउनुपरेको र तीन दिनसम्म पनि सेवा नपाएको उनको भनाइ छ। अस्पतालका कर्मचारीको व्यवहारसमेत चित्तबुझ्दो नभएको उनले गुनासो गरिन्।

सेती प्रादेशिक अस्पतालमा विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक, ज्येष्ठ नागरिक तथा स्वास्थ्य बीमामार्फत उपचार गराउन आउने बिरामीको चाप रहने गरेको छ। सरकारी अस्पतालमा सस्तो उपचार पाउने आशामा आउने यस्ता बिरामीले औषधि बाहिरबाट खरिद गर्नुपर्दा उपचार खर्च थप बढ्ने गरेको छ।

अस्पतालको फार्मेसीमै सबै औषधि उपलब्ध नहुँदा स्वास्थ्य बीमाको सुविधा लिने बिरामीसमेत निजी फार्मेसीमा निर्भर हुनुपर्ने अवस्था छ। यसले सरकारी अस्पतालबाट सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको अपेक्षामाथि प्रश्न उठाएको छ।

सेवाग्राहीले अस्पतालमा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न, फार्मेसी सेवालाई व्यवस्थित बनाउन र उपचारका अन्य सेवासमेत प्रभावकारी बनाउन प्रदेश सरकार तथा अस्पताल प्रशासनसँग माग गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस