अर्थव सिंहको राष्ट्रिय कीर्तिमानसहित स्वर्ण, सुदूरपश्चिमलाई तीन पदक
धनगढीः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा सुदूरपश्चिमका अर्थव सिंहले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।
उनले प्रतियोगितामा एक स्वर्ण र दुई रजत गरी सुदूरपश्चिमलाई तीन पदक दिलाएका हुन्।
नेपालगञ्जस्थित पौडी पोखरीमा प्रतियोगिताको दोस्रो दिन अर्थवले पुरुष ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्ने क्रममा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेका हुन्। उनले उक्त दूरी ४ मिनेट ५६.७६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। यसअघि सन् २०२५ मा उनले ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनाएका थिए।
अर्थवले यसअघि प्रतियोगितामा दुई रजत पदकसमेत जितिसकेका छन्। उनको प्रदर्शनसँगै सुदूरपश्चिमले पौडीमा एक स्वर्ण र दुई रजत पदक जितेको छ।
एक स्वर्ण र दुई रजत पदकसहित सुदूरपश्चिम पदक तालिकामा छैटौँ स्थानमा रहेको छ।