सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपेन्द्रसिंह ऐरी टी-२० सिरिजको उत्कृष्ट खेलाडी

२०७८ चैत्र २१, ०४:५२ खबर संवाददाता

काठमाडौं: नेपाली क्रिकेट टिमका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टी-२० श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। नेपाल, पपुवा न्यूगिनी (पीएनजी) र मलेसिया सम्मिलित श्रृंखलामा नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दि सिरिज घोषित भए।

उनले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। दीपेन्द्रकै अलराउण्ड प्रदर्शनमा नेपालले सोमबार पीएनजीलाई फाइनलमा ५० रनले हराएर अपराजित रहँदै श्रृंखलाको उपाधि जितेको हो।  उनले फाइनलमा ब्याटिङमा अविजित ५४ रन र बलिङमा ४ विकेट लिए।

दीपेन्द्रले श्रृंखलाभर ५ खेल खेल्दै १ शतक र २ अर्धशतक प्रहार गर्दै सर्वाधिक २५५ रन बनाए। उनले फाइनलमा २१ रन जोड्दा टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन समेत पूरा गरे। उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत हुन्।

दीपेन्द्रले श्रृंखला अन्तर्गत लिगको अन्तिम खेलमा मलेसिया विरुद्ध अविजित ११० रन बनाएका थिए। पहिलो खेलमा पीएनजी विरुद्ध ४ रनमै आउट भएका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध २१ रन बनाएका थिए । त्यसपछि तेस्रो खेलमा पीएनजी विरुद्ध ६६ रन बनाएका थिए।

यस्तै दीपेन्द्रले श्रृंखलामा ५ खेलमा ७ विकेट लिए। फाइनलमा उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए। टी-२० मा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर समेत हो। यसअघि उनले फेब्रुअरीमा ओमानमा भएको चारदेशीय टी-२० श्रृंखलामा आयरल्याण्डविरुद्ध ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिएका थिए।

दीपेन्द्रले अघिल्लो साता भएको पीएनजी विरुद्धको एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा १०५ रन बनाएका थिए। त्यसअघि पहिलो खेलमा १५ रन बनाएका थिए।

नेपालमा खेल्नुअघि युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू मा बिर्सनलयाक प्रदर्शन गरेका दीपेन्द्रले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरे। युएईमा भएको लिग मा टू मा दीपेन्द्रले चार खेलमा क्रमश: ८, ४, ०, ० मा आउट भएका थिए।

यस्तै नेपालका करण केसी बेस्ट बलर घोषित भए । उनले श्रृंखलामा एक ह्याट्रिकसहित सर्वाधिक १३ विकेट लिएका थिए। करणले लिगमा पीएनजी विरुद्धको एउटै खेलमा ह्याट्रिकसहित ५ विकेट लिएका थिए । यसैगरी पीएनजीका टोनी उरा बेस्ट ब्याटर घोषित भए । उराले श्रृंखलामा दुई अर्धशतकसहित १९० रन बनाएका थिए।

कमेन्ट लोड गर्नुस