सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले जित्यो ‘त्रिकोणात्मक टी–२० सिरिज’को उपाधि, रच्यो इतिहास

२०७८ चैत्र २१, ०३:५१ खबर संवाददाता

काठमाडौं: नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ। फाइनलमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो।

यससँगै नेपालले इतिहास रचेको छ। घरेलु मैदानमा लगातार दुईपटक टी–२० आई सिरिजको उपाधि जित्दै इतिहास रचेको हो। यसअघि गतवर्ष नेपालले मलेसिया र नेदरल्याण्डसँगको सिरिज जितेको थियो।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो। उसका लागि सेसे बाउले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा ६ छक्का र १ चौकासहित सर्वाधिक ५९ रन बनाए पनि टिमलाई उपाधि जिताउन सकेनन्।

यस्तै, चार्ल्स अमिनीले १५ रन बनाउनुबाहेक बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र १८ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। यो उनको टी–२० आई करियरकै उत्कृष्ट बलिङ हो। यसअघि उनको उच्च बलिङ प्रदर्शन २१ रन लिएर ४ विकेट लिनु थियो।

यस्तै, करण केसीले ३ र सन्दीप लामिछानेले २ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक नटआउट ५४ रन बनाउँदा केसीले १२ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ३३ रनको योगदान दिए।

यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन बनाए। रोहितकुमार पौडेल २ तथा आरिफ शेख र दीलिप नाथ दुवै शून्य रनमा आउट भए। पीएनजीका सेमो कमियाले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए। यस्तै, चाड सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट हात पारे।

नेपालले सिरिजको पहिलो म्याचमा पपुवा न्युगिनीलाई १५ रन, दोस्रो खेलमा मलेसियालाई ६ विकेट, तेस्रो खेलमा फेरि पीएनजीलाई ३७ रन र अन्तिम खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो।

दीपेन्द्रले रचे इतिहास

नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इतिहास रचेका छन्। उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् ।

पीएनजीविरुद्ध २१ रन जोडेसँगै दिपेन्द्रले १ हजार रनको आँकडा पूरा गरेका हुन् । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी बनेका छन् । दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रियको ३४ इनिङ्स खेल्दै १ हजार रन पूरा गरेका हुन् । दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीसमेत हुन् ।

उनले ३८ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै १ शतक र ५ अर्धशतक बनाएका छन् । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दिपेन्द्रपछी पारस खड्का हुन् । उनले संस्यास अघि ७ सय ९९ रन बनाएका थिए ।

दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले मलेसियाविरुद्ध १ सय २६ रनको अविजित शतकीय इनिङ खेल्दै नेपाली खेलाडीको उच्च स्कोर बनाएका थिए ।

कमेन्ट लोड गर्नुस