सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

२०७८ चैत्र १७, १२:११ खबर संवाददाता

धनगढी: ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई कैलालीको वनदेवी युवा क्लबले प्रायोजन गरेको छ। कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित क्लबले अवार्डको वर्ष महिला खेलाडी विधालाई प्रायोजन गरेको हो। 
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो। 

विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएको वनदेवी युवा क्लब महिला गोल्डकपको तयारीमा रहेको छ। कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको तयारीमा क्लब जुटेको छ। वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुन गइरहेको छ। 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टीमको सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिइनेछ। उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिइनेछ। प्रतियोगिता संञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ। 

वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ। क्लबले सुदूरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो। प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरुको उपाधि समेत जितेको छ। फागुन २८ गते धनगढीमै सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गरिएको थियो।  

अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धक्कमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। त्यसै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोसले प्रायोजन गरेको छ। 

कमेन्ट लोड गर्नुस