सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी विजयी
काठमाडौँ: सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। आरसिटीको जितमा प्रज्ज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे।
विश्वासले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आरसिटीलाई पहिलो अग्रता दिलाए। त्यस्तै खेलको २०औँ र २४औँ मिनेटमा प्रज्ज्वलले व्यक्तिगत दुई गोल गरे। जितसँगै आरसिटीले आठ खेलबाट १२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ।
पराजित सामाजिक युथ क्लब भने आठ खेलबाट सात अङ्क जोड्दै अङ्कतालिकाको नवौँ स्थानमा यथावत रहेको छ।