सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रोकिराखेको बसमा हाइस ठोक्किँदा १२ जना घाइते

२०८३ कार्तिक ३०, ०९:४१ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा रोकिराखेको बसमा हाइस ठोक्किँदा १२ जना घाइते भएका छन्।गोदावरी नगरपालिका–६ स्थित रामजानकी चोक नजिकै महेन्द्र राजमार्गमा दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख १०७१ नम्बरको बस रोकिराखेको अवस्थामा सोही दिशाबाट आएको बा ५ ख ४१९५ नम्बरको हाइसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा हाइस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४० वर्षीय गोविन्द विष्टसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चालक विष्ट र कैलालीको भजनी नगरपालिका–४ का चार वर्षीय श्रीधर भट्टको अवस्था मध्यम रहेको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल पठाइएको छ। दुर्घटनामा घाइते हुनेमा कैलालीका विभिन्न स्थानीय तहका यात्रु तथा हाईसका सहचालक बैतडीको पुर्चौडी नगरपालिका–५ का २९ वर्षीय करण सिंह बोहरा पनि छन्। दुर्घटनापछि प्रहरीले बस, चालक र हाइस नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस