सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनबारे प्रधानमन्त्री पत्नी र प्रदेश सभापतिकै फरक–फरक मत

२०७८ चैत्र १०, ०३:२८ आशिष मल्ल

धनगढी: गत फागुन २९ गते नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायर डोटीमा भाषण दिइरहेका थिए। ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका क्रममा जोरायल पुगेका उनले स्थानीय तहको निर्वाचनमा अहिलेको पाँच दलिय सत्ता गठबन्धन नहुने जिकिर गरेका थिए।  ‘नेपाली कांग्रेसले बनाएको संविधान जोगाउन कांग्रेस एक्लैले प्रयास गर्छ’ उनले भनेका थिए, ‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन। कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्दैन।’

उनले गठबन्धनका नाममा कांग्रेस कार्यकर्ताहरु पेलिएको समेत बताएका थिए। आफूहरुमाथि अन्याय भएको भन्दै उनले चर्को स्वरमा भनेका थिए, ‘गाउँगाउँमा जानुहोस्, कम्युनिस्ट सरकारले गरेको गलत क्रियाकलापहरूको भण्डाफोर गर्नुस्।’ 

उक्त कडा अभिव्यक्ति पछि नेपाली कांग्रेसका धेरै कार्यकर्ताले नेता बलायरको खुलेरै प्रशंसा गरेका थिए। उनीहरुले अन्य ठाउँमा ५ दलिय गठबन्धन रहेपनि सुदूरपश्चिममा भने नरहने अडकल गरेका थिए।  तर आफ्नै पार्टीका प्रदेश सभापतिको धारणालाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले काटेकी छिन्।

धनगढी पुगेकी उनले आज(बिहीवार) पत्रकारहरुसँग कुराकानी गर्दै अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छिन्। प्रेस युुनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ। गृह कार्य पनि त्यही रुपले भइरहेको छ।’ 

कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर लगायत अन्य नेताहरूले चुनावमा गठबन्धन नहुने बताइरहेका बेला देउवा पत्नीले भने गठबन्धन हुने दाबी गरेकी छिन्। उक्त विषयमा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले भने आफ्नो आधिकारिक धारणा व्यक्त गरेका छैनन्।


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस