सुदूर नेपाललाई विश्वसँग जोड्दै

गिरिजाप्रसाद कोइराला स्मृति हक्की प्रतियोगिता: नेपाली सेना, सुप र लुम्बिनी प्रदेश विजयी

२०७८ चैत्र ९, ०९:१३ रासस

मोरङ: विराटनगरमा सञ्चालन भएको स्व गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाली सेना, सुदूरपश्चिम र लुम्बिनी प्रदेश विजयी भएका छन्। नेपाल हक्की सङ्घद्वारा आयोजित विराटनगरको शहीद रङ्गशालामा भएको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को गोल अन्तरमा पराजित गरेको छ। यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलअन्तरमा पराजित गरेको छ। 

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश नं १ लाई ४–१ गोल अन्तरमा पराजित गरेको छ। नेपाली सेना र सुदूरपश्चिम प्रदेश समान २–२ खेल जित्दै छ÷छ अङ्कका साथ अगाडि रहेका छन् भने प्रदेश १ र बागमती प्रदेशको तीन÷तीन अङ्क रहेको छ।  

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।

प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद रु १५ हजार साथै ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी प्रदेश र बागमती प्रदेश, दोस्रो खेल सुदूरपश्चिम र प्रदेश १ तथा तेस्रो खेल लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस