सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोलाबगर

२०७५ माघ १५, १२:२० खबर संवाददाता

पहिलो दिन बाध्यताले कोलाबगर पुगे, कालान्तरमा त्यही ठाउँ रहर बन्दै गयो । पहिलो दिन त्यहाँ रुँदै गएको थिएँ । पछि त्यहाँबाट फर्किदा रुन थाले । बहाना छँदै थियो गोरेकाकालाई सामल ( रासन ) दिने । एकै यामको हरेक सप्ताह अन्तमा त्यहाँ पुग्नथाले म । सेतीबगरको सेरोफेरोले मोहनी लगाउन थालेपछि बरु गाउँको बसाई पट्यार लाग्दो हुन थाल्यो मलाई । सेती किनारामा बल्छी समातेर रुँग्दाको आनन्द र बल्छीमा माछा अड्के पछि प्राप्त हुने खुसीलाई कसरी व्यक्त गर्नु र ?
सामल बहाना मात्र थियो ! त्यही बाहानाको बुईं चढेर हरेक हप्ताको अन्त्यमा म मेरो सपनाको सेरोफेरोमा पुगेकै हुन्थे । जसरी मलाई कोलाबगरको हतारो हुन्थ्यो त्यसैगरि गोठालो लागेका मेरा गाउँलेहरुलाई मेरो हतारो हुन्थ्यो । सुर्तीको फाँको नचपाउने र बिडीको सुर्को नतान्ने कोही थिएनन् । उनीहरुको अम्मल खल्टिमा बोकेर म नदी किनारामा पुग्दा त्यहाँ खुसी र उमङ्गको मेला नै लाग्ने गथ्र्यो । म पुग्नुमात्रै बेर ! हरेकका गिजामा सुर्तीको फाँको र नाकका पोरा नै फाड्ने गरेर बाहिर निस्कने बिडीको धुवाँ कोलाबगरको बालुवाको आकासमाथि पर–परसम्म छरपस्ट हुन्थ्यो । म उनीहरुको आत्मसन्तुष्टिमा भित्रै देखि रमाउँथे । लाग्थ्यो यो भन्दा ठूलो पुण्य पनि केही होला र ? उसो त अम्मलको बैकल्पिक ब्यबस्था पनि त्यहाँ नभएको होईन । हरेकका गोजीमा तम्बाकु, सुल्पा र टाँकी हुने गथ्र्यो । त्यसको तुलनामा गोरे काकाका लागि भनेर मैले लग्ने बिँडी र तम्बाकुमा फरक स्वाद पाइन्थ्यो क्यारे ! सबै रमाइलो मान्दै बिडीको धुँवा फुक्थे र सुर्तीको रस निल्थे । 
म उमेरले सबैभन्दा कान्छो थिएँ त्यहाँ सायद त्यसैले माया पनि सबैले मेरै गर्थे । त्यसको प्रमाण एक दिन टुल्के काकाले मेरो गालामा च्वाप्प म्वाई खाए । त्यसको स्पर्स मेरो गालामा मेटिईसकेको होला तर उनको मुखबाट निस्किएको तम्बाकुको गन्ध मेरा नाकाका पोरामा अझै पनि ताजै छ । बा पछि मेरो गालामा माया गर्ने अर्को लोग्नेमान्छे उनै टुल्के काका हुन् । अरु गोठालाहरु पनि असाध्य माया गर्थे तर म्वाई खाने टुल्केकाका एक्ला । 
त्यसबेला गोठालो लाग्ने दईवटा याम हुन्थे, हिउँद र बर्षा । हिउँदमा सुख्खाका कारण माथि गाउँका लेकमा चरिचरनको अभाव हुनेहुँदा कोलाबगर झर्ने चलन थियो भने बर्षा याममा खेतीपातीको काम सकेर गोगनपानी सर्ने चलन थियो । यी दुई याममा गाउँका लगभग सबै ठूला चौपाया यतै हुन्थे । दुबै यामको अवधी लगभग दुई–दुई महिना । मैले पनि कारणबस एकै वर्षका दुई याम यहाँ बिताउने अवसर पाएँ । त्यो पनि गोठालो लाग्न होइन कि गोरेकाकालाई सामल दिन । 
हिउँदे यामको यो सप्ताह अन्तमा पनि म गाउँ , दावस्था , खाली , मल्यानीको खाल अनि डुस्सुलाई पछि धकेल्दै अघिल्ला सप्ताह अन्तमा झँै कोला बगर पुगे । मेरो पिठ्युँमा गोरेकाकाकालागि सामल र खल्तीमा सबैका लागि अम्मल थियो । सूर्यका किरणहरु सिर्पालीको गाउँ तर्फ उभो लाग्दै थिए भने डुस्सु र गोगनपानीको छायाँले पनि संँगसँंगै सूर्यको प्रकाशलाई पच्छयाई रहेका थिए । त्यस्तैमा डुस्सुबाट ओरालो लाग्दै गर्दा चौपायाको बथान पनि ओरालो लाग्ने तर्खर गर्दै थोयो । कतिपय चर्दै थिए त कतिपय टक्क अडिएर उग्राउँदै पनि थिए। मेरा चौपाया पनि त्यसैमा कतै मिसिएका थिए । हेरे ! एकहल काले, झुले अनि काँकरी (हाम्रो गाउँमा हरिणलाई काँकर भनिन्छ । हरिणको रङ सँंग मिल्ने भएकाले हाम्रो गाईको नाम पनि काँकरी पर्न गएको थियो) को कतै अत्तोपत्तो थिएन । त्यतै कतै चर्दै होलान भनेर उधो लागे । कोलाबगर पुग्दा त्यहाँ सबै आ–आफ्नो काममा तल्लिन थिए। म पुगेको मात्र के थिए  सबै अम्मलीहरु आ–आफ्ना काम छोडेर मेरै वरिपरि झुम्मिए । उनीहरूले अम्मल अनुसार बिडी र सुर्तीको स्वाद लिए । उनीहरुको तृप्तीमा म पनि सन्तुष्ट भए । 
त्यहाँ सबै थिए तर गोरेकाका, मोतीदाई, टुल्केकाका र बम दाई त्यो भिडमा थिएनन् । उनीहरुले आज माछा मार्ने र सिकार खेल्ने जिम्मेवारी पाएका रहेछन् । उनीहरु कतै नदी किनार तथा जङ्गलमा सिकार रुँगेर बसेका होलान् । अँध्यारो नहुँदै जङ्गलमा छरिएका चौपायाहरु ओरालो लाग्न थाले । हेर्दाहेर्दै सेती बगर भरियो । तृप्त भएका चौपाया गोठमा थुनेर गोठालाहरु साँझको उपक्रममा लागे । कोही दुहुना दुँदै त कोही रोटी पोल्दै । त्यसै बिच गौरीलाल दाइले मेरा एकहल गोरु र काँकरी गाईलाई पनि खोल्सो छेउको गोठमा लगेर बाँधे । अरुका स्थायी गोठहरु थिए तर मेरो गाई गोठ अस्थायी थियो सबैभन्दा पर, अलग । 
अध्याँरो हुनै लाग्दा माछा मार्ने र सिकार खेल्ने दुवै टोली पनि झुल्किए । माछा पनि हरिण पनि यस्तो त धेरै समय पछि आज भएको थियो रे । सबै खुसीले उफ्रिन थाले । म जिल्ल परेर हेरिमात्र रहे । माछा मासुको संँगै आगमन भएपछि सबै मिलेर नयाँ योजना बनाए । जस अनुसार दुई जनालाई औल पठाईयो । कोलाबगरबाट औल कति टाढा छ ? त्यो मलाई हिजो पनि थाहा थिएन र आज पनि थाहा छैन तर रात पर्नै लाग्दा एक जोर मानिस त्यता लागे । मध्यराततिर हातमा पाँच लिटर लोकल दारु बोकेर गएकाहरु फर्किए । उनीहरु लाई देखेर सबैका तिर्खाएका ओठ रसाए । नरसाउन पनि किन पोलेको कचभली, तारेका माछा, मुटेको मासु र झोल मासु गरी माछा मासुका चार किसिमका परिकार अघि नै तयार थिए ।
वरिपरि गोठहरु, बिचको फराकिलो अाँगन, अाँगनको बिचमा रापिलो धुनी अनि धुनीको वरिपरि गोलो घेरा बनाएर बसेका हामी सबै । मोतिलाल दाइ र गौरिलाल दाइले मिलेर खाना पस्किए । अब के का लागि अबेर गर्नु थियो र ?
हेर्दाहेर्दै मदिराको नसामा सिङ्गै सेती बगर मदहोस बन्न थाल्यो । सेतीको सुसेली पनि थोरै उत्ताउलो भएझैं लाग्ने त्यो रात बिस्तारै रङ्गिन बन्न थाल्यो । सोगटको पाखो छाँद हाल्दै रोएको र अलि पर सिमुडीको सिङ्गो पहाड खित्का छोडेर हाँसेको पनि त्यसै दिन हो ।  गोठालाहरु बिच हाँसी मजाक त सधँै चल्थ्यो तर आजको मजाकमा अस्लिलताको कुनै छेकबार थिएन । मर्यादालाई खल्तीमा राखेर सबै स्वच्छन्द बन्न पुगेका थिए । हाँस्दा हाँस्दै रुवाउने र रुँदा रुदै हँसाउने मदिराको अदभूत कलालाई मैले सबैभन्दा नजिकबाट त्यसैदिन अनुभुत गरेको हुँ । सबै मदहोस र अलमस्त बनेका थिए एकै छिनमा । बगरलाई मात लाग्दा नदी लज्जाएको पनि मैले पहिलो पटक त्यसैदिन देखेको हुँ । 
सबैसँंग रमाउँदै अबेर राति म पनि निदाउन पल्टिए । कोलाबगरमा सबै त ठिकै थियो तर सितिमिति निन्द्रा नलाग्ने । अघिका अलमस्तरामहरु हेर्दाहेर्दै निन्द्रादेवीको काखमा मस्तराम बनिसकेका थिए तर म भने कोल्टे फेर्दै टुल्केकाका , मोतीदाइ अनि गौरिलाल दाइहरुका भयानक गुर्राहटको एक्लो विवश स्रोता बन्न पुगे । अरुसबै निदाएका भएपनि सेतीको सुसेली र म भने जागै अनि अनिदै थियौं ।त्यसै बिच बाहिरको अन्धकार अनि चकमन्नतामा नजानिदो हलचल उत्पन्न भयो । त्यो हलचल जति तिब्रताका साथ सुरु भएको थियो त्यसै गरि सेलायो पनि । एकैछिनको तछाडमछाड , भागाभाग पछि फेरि पूर्ववत शान्ति ! त्यही अन्धकार ! त्यही चकमन्नता ! कुनै अनिष्टको जानकारी हुँदाहुँदै पनि म चुपचाप रहे । कलेजोले ठाउँ छोडिसकेको ले कुनै प्रतिक्रिया जनाउन पनि सकिएन ।
डरैडरको भुमरीमा कतिखेर निदाइएछ पत्तै भएन । बिहान जाग्दा सूर्यका किरण दरिइसकेका थिए । हिजो मध्यरातसम्म सेती बगरको बालुवालाई आफ्नो अठ्ठाहस पूर्ण हाँसोले उडाउनेहरुअनि धुरुधुरु रुवाउनेहरु लहरै मुडो बनेर ढलेका थिए । टिस्टा बिजय गर्ने गोर्खाका सन्तानहरु आफ्नै  बिस्टाको रासमाथि ढलेको दृश्य अनौठो थियो । म जागेसँंगै अरुपनि एकएक गर्दै जाग्न थाले । रातको घटना पछि त्यहाँ सिर्जना भएको  नयाँ दृश्य मेरालागि अनौठो नभए पनि अरु सबै आश्चर्यमा परे किनभने हिजो बेलुका गोठमा बाँधेका गोरुहरु गोठदेखि सेती बगरसम्म जताततै छरपस्ट थिए । केही छिनको खोजबिन पछि सबैका चौपाया भेटिए । मेरी काकरी पनि भेटिई तर बिचरी गोठछेउको खोल्सामा रगतको आहालमा मृत थिई । हिजो रातिको हलचलमा चितुवाको सिकार बनेकी रहिछे । म उसैको छेउमा टुक्रुक्क बसेर रुन थाले । 

अस्ति गाउँबाट काले र झुलेसँंगै खुसी हुदै ओरालो लागेर कोलाबगर पुगेकी काकरी आज आधा खोक्रो शरीर बोकेर खोल्सामा मृत थिई । हिजो साँझ मात्रै पनि काकरी र मेरा आँखा एक चरण जुधेका थिए । त्यसले यति चाँडै छोडेर जाली भन्ने मैले कल्पना सम्म गरेको थिएन । आज सबै हिजोजस्तै थियो ः सेती बगर उस्तै , सेतीको सुसेली उस्तै , फेरिएकी थिई त केबल काकरी मात्र ।

सबैले सम्झाए पछि खोल्सो छोडेर म गोठ तर्फ लागे । दुर्गन्ध नफैलियोस भनेर अरु सबै मिलेर काकरीको मृत शरीरलाई सेतीको बगरमा खाल्डो खनेर पुरे । म त्यो दृश्य गोठको डिलमा बसेर टुलुटुलु हेरिरहेको थिए । मेरा अघिदेखिका सजल आँखाका परेला अब भने भत्किन थालेका थिए ।आँगनको डिलमा बसेर धित मरुन्जेल रोए । काकरीका मलामीहरु फर्किए पछि सायद लाजले होला नचाहेर पनि आँखा पुछे ।बाहिर हेर्दा सबै सामान्य नै थियो तर मेरो मनको हलचल अझै थामिएको थिएन । गोठालाहरु भान्साको काममा लागे म भने पिठ्युँमा खाली झोला र मनमा गरुङ्गो भारी बोकेर गाउँ तर्फ उभो लागे । 
(यस कथाका कथाकार–पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय,सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन् ।)

कमेन्ट लोड गर्नुस