सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा छैटौं ‘निसर्ग हस्पिटल बड्का भजहर कप’ फुटबल प्रतियोगिता बैशाख १६ देखि

२०८३ वैशाख ९, ०२:१५ खबर संवाददाता

धनगढी: कैलालीको कैलारी गाउँपालिका–८ लोहारपुरमा थारु सांस्कृतिक “छैटौं निसर्ग हस्पिटल बड्का भजहर कप” फुटबल प्रतियोगिता आगामी बैशाख १६ गतेदेखि सञ्चालन हुने भएको छ। युवा जनहित क्लबको आयोजनामा हुने प्रतियोगिता बैशाख २३ गतेसम्म चल्ने जानकारी बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

आयोजकका अनुसार प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ। विजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवर्द्धकको रूपमा रहेको छ। साथै, विभिन्न संघसंस्था तथा निजी व्यवसायिक फर्महरूले पनि प्रायोजन तथा सहयोग गर्नेछन्।

क्लबका अध्यक्ष साँधुराम चौधरीका अनुसार थारु समुदायको लोप हुँदै गएको मौलिक लोकपर्व तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष भजहर पर्वको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गरिँदै आएको छ, जसलाई यस वर्ष पनि निरन्तरता दिइएको हो।

फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलकुदहरू पनि सञ्चालन गरिनेछन्। जसमा महिलाहरूको छुर, डेल्वा दौड, टाँरा चिरौवर, कबड्डी, कुइली दिदी तथा पुरुषहरूको डेगा दौड लगायतका प्रतियोगिता समावेश गरिएका छन्।

थारु समुदायमा ‘भजहर’ पर्व विशेष महत्वका साथ मनाइन्छ। रोगव्याधिबाट जोगिन गाउँभन्दा बाहिर रुखको छहारीमुनि सामूहिक रूपमा पूजा गर्ने परम्परा रहेको छ। यस क्रममा गाउँका गुरुवाले गाउँघरमा रोग नलागोस्, बालबालिका स्वस्थ रहून्, पशुपन्छी सुरक्षित रहून् र खेतीपातीमा किराको प्रकोप नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन रहेको छ।
 

कमेन्ट लोड गर्नुस