चुरे संरक्षणलाई प्राथमिकतामा राख्न काँग्रेस नेता मिश्रको आग्रह
काठमाडौं: नेपाली काँग्रेसका नेता मनिष कुमार मिश्रले मधेश प्रदेशमा बढ्दो जल संकट र मरुभूमिकरणको जोखिमलाई मध्यनजर गर्दै चुरे क्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राख्न मधेश प्रदेश सरकारसँग आग्रह गरेका छन्।
मधेश क्षेत्रमा दिनप्रतिदिन पानीको अभाव गहिरिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेता मिश्रले चुरे संरक्षण नगरे मधेश मरुभूमि बन्न सक्ने खतरा रहेको औंल्याए। उनले मधेशलाई पुनः हराभरा, उर्वर र जलस्रोतले सम्पन्न बनाउन चुरे क्षेत्रको संरक्षण अपरिहार्य रहेको बताए।
उनले भने, “एक समय मधेशको अन्नबाली नेपालभित्र मात्रै होइन, विदेशसम्म निर्यात हुने उदाहरणहरू थिए। त्यसैले चुरे संरक्षणलाई सरकारले प्राथमिकतामा राख्न अत्यन्त आवश्यक छ।”
नेता मिश्रले चुरे संरक्षणका लागि केही महत्वपूर्ण कदमहरू तत्काल लागू गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार अवैध तथा मापदण्डविपरीत हुने उत्खनन रोक्नुपर्ने, पानी अत्यधिक शोषण गर्ने वनस्पतिमा नियन्त्रण लगाउनुपर्ने (जस्तै सिपेता), व्यापक रूपमा वृक्षारोपण गर्नुपर्ने तथा पुराना पानीका मुहानहरू पुनः सक्रिय बनाउनुपर्ने आवश्यक छ।
उनले यस्ता उपायहरूले सिँचाइ, खानेपानी, खेतीयोग्य जमिनको उर्वरता, वनजंगल र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने उल्लेख गरे। साथै, पानीको अभाव, भोकमरी, कृषिप्रतिको निराशा र स्वास्थ्य समस्याजस्ता चुनौतीहरू न्यूनीकरण गर्न पनि मद्दत पुग्ने उनको भनाइ छ।