सुदूर नेपाललाई विश्वसँग जोड्दै

दमक गोल्डकप फुटबलको तयारी पूरा

२०७८ चैत्र ८, ०१:३० खबर संवाददाता

झापा : बुधबारदेखि सुरु हुने दमक गोल्डकप फुटबलको तयारी पूरा भएको छ। दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको हो। दमक–३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्बल कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए। 

बुधबारबाट हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ। बुधबारको उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए। पाँच हजारदेखि सात हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ। 

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस