महिला च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित
काठमाण्डौँः १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि पराजित भएको छ।
पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो। हिजो बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गर्यो।
भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे। नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन्। नेपालले अन्तिम खेल भोलि बङ्ग्लादेशसँग खेल्नेछ।
भारत ३ खेलमा ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। बङ्ग्लादेश ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ। च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेशको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ।