सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आजदेखि उपमेयर कप क्रिकेट

२०७८ चैत्र ५, ०२:५५ रासस

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ। दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।  

निग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्नुहुने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। उद्घाटन समारोहपश्चात् हुने पहिलो खेलमा वडा नं ६ र ९ खेल्ने भएका छन्। प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको बताइएको छ। समूह ‘ए’ मा वडा नं ६, ९ र ५ रहेका छन्। समूह ‘बी’ मा वडा नं २, ८, ४, ११ छन्। चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ। उपाधि विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।  

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुदै आएको नगर क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। यसअघि चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो।  
 

कमेन्ट लोड गर्नुस